विज्ञान र प्रविधिमा अग्रसर ब्राइट फ्युचर इङ्लिस स्कुल, ३४औँ अभिभावक दिवस भव्य रूपमा सम्पन्न


Single Before Content Ad

शिव भट्टराई भोजपुरे/ मोरङको सुन्दरहरैँचा–८ स्थित ब्राइट फ्युचर सेकेण्डरी स्कुलले आफ्नो ३४औँ अभिभावक दिवस तथा शैक्षिक प्रदर्शनी भव्य तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न गरेको छ। शिक्षा, विज्ञान र प्रविधिको समन्वयलाई प्राथमिकता दिँदै आयोजित कार्यक्रम विद्यालयको शैक्षिक गुणस्तर र नवप्रवर्तनतर्फको प्रतिबद्धताको उत्कृष्ट उदाहरणका रूपमा प्रस्तुत भएको छ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा विज्ञान, प्रविधि, सिर्जनात्मकता तथा संस्कृतिको सुन्दर संयोजन देखिएको थियो। विद्यार्थीहरूले तयार पारेका विभिन्न वैज्ञानिक नमुना, नवप्रविधिमैत्री प्रोजेक्ट, हस्तकला सामग्री तथा शैक्षिक सामग्रीको प्रदर्शनीले कार्यक्रमलाई अझ आकर्षक बनाएको थियो। प्रदर्शनी अवलोकन गर्न आएका अभिभावक तथा अतिथीहरूले विद्यार्थीहरूको प्रतिभा र सिर्जनशीलताको खुलेर प्रशंसा गरेका थिए।

कार्यक्रमको उद्घाटन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीले गरेका थिए। उद्घाटन मन्तव्यका क्रममा उनले निजी विद्यालयहरूले नेपालको शिक्षा क्षेत्रमा गुणस्तरीय शिक्षाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको उल्लेख गर्दै ब्राइट फ्युचर सेकेण्डरी स्कुलले प्रविधिमैत्री र व्यवहारिक शिक्षामा गरेको प्रयास प्रशंसनीय रहेको बताए। उनले विद्यार्थीहरूलाई आधुनिक शिक्षा र नवप्रविधिसँग जोडेर अगाडि बढाउनु आजको आवश्यकता भएको पनि उल्लेख गरे।  

विद्यालयका संस्थापक प्रिन्सिपल तथा प्याब्सन केन्द्रीय कार्यसमितिका उपाध्यक्ष टिकाराम ढकालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले विज्ञान प्रदर्शनीका साथै सांस्कृतिक नृत्य, गायन, नाटक तथा विभिन्न सिर्जनात्मक प्रस्तुति दिएका थिए। कार्यक्रममा रोबोटमार्फत अतिथीहरूलाई स्वागत तथा उद्घाटन गरिएको दृश्य विशेष आकर्षणको केन्द्र बनेको थियो, जसले विद्यालयमा प्रविधिमैत्री शिक्षाको प्रयोग र नवप्रवर्तनप्रतिको प्रतिबद्धतालाई स्पष्ट झल्काएको थियो।
कार्यक्रमको समापन सत्रमा चर्चित गायिका रचना रिमालको दमदार सांगीतिक प्रस्तुतिले सम्पूर्ण वातावरणलाई संगीतमय बनाएको थियो। उनको प्रस्तुतिमा विद्यार्थी, अभिभावक तथा अतिथीहरू उत्साहपूर्वक सहभागी भएका थिए।

कार्यक्रम सञ्चालन विद्यालयकी शिक्षिका कविता पाँचकोटीले गरेकी थिइन्। सो अवसरमा नृत्य, खेलकुद, गायन लगायत विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार, मेडल तथा ट्रफी प्रदान गरिएको थियो।शैक्षिक प्रदर्शनीमा विद्यार्थीहरूले तयार पारेका विज्ञानका विभिन्न नमुना, प्रयोगात्मक प्रोजेक्ट, हस्तकला तथा अन्य सिर्जनात्मक सामग्रीले विद्यालयमा सिकाइको व्यवहारिक पक्षलाई मजबुत बनाइएको सन्देश दिएको विद्यालयले जनाएको छ।

कार्यक्रममा उपस्थित अतिथी, अभिभावक तथा सरोकारवालाहरूले विद्यालयले शिक्षा, अनुशासन, प्रविधि र प्रतिभा विकासमा पुर्‍याइरहेको योगदानको उच्च प्रशंसा गर्दै आगामी दिनमा पनि ब्राइट फ्युचर सेकेण्डरी स्कुलले अझ ठूलो शैक्षिक उचाइ हासिल गर्ने विश्वास व्यक्त गरेका छन्।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार