(मोरङ) — मोरङको सुन्दरहरैचा १० मा रहेको द राइजिङ इङ्गलिस बोर्डिङ स्कुलले आफ्नो ३४ औं वार्षिक उत्सव तथा अभिभावक दिवस स्सम्पन्न गरेको छ। विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय समुदायको उल्लेखनीय सहभागितामा आयोजित कार्यक्रमले विद्यालय परिसरलाई उत्सवमय बनाएको थियो।कार्यक्रमको उद्घाटन प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुबेदीले गरेका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा, संस्कार र सिर्जनशीलताको सन्देश झल्किने विभिन्न गतिविधि प्रस्तुत गरिएको थियो।
समारोहलाई सम्बोधन गर्दै प्रदेश सांसद सुबेदीले गुणस्तरीय शिक्षा आजको समाज निर्माणको आधार भएको उल्लेख गरे। उनले विद्यालयहरूले आधुनिक प्रविधिसँग जोडिएको शिक्षण पद्धति अपनाउँदै विद्यार्थीलाई समयअनुकूल ज्ञान र सीप प्रदान गर्नुपर्ने बताए।“शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नभई व्यवहारिक ज्ञान र सिर्जनशीलतासँग जोडिनुपर्छ,” उनले भने।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल गोपाल पाठकले विद्यालयले पछिल्ला वर्षहरूमा शिक्षण पद्धतिमा उल्लेखनीय सुधार गर्दै आएको जानकारी दिए।उनले प्रोजेक्ट वर्कमा आधारित शिक्षण पद्धतिलाई प्राथमिकता दिँदै विद्यालयलाई क्रमशः प्रविधिमैत्री शिक्षण प्रणालीतर्फ अग्रसर बनाइएको बताए।
“विद्यार्थीलाई केवल पाठ्यपुस्तकको ज्ञानमा सीमित नराखी व्यवहारिक र अनुसन्धानमुखी शिक्षामा जोड दिएका छौँ,” प्रिन्सिपल पाठकले भने,“प्रोजेक्ट वर्क, प्रयोगात्मक अभ्यास तथा डिजिटल माध्यमको प्रयोगले विद्यार्थीको सिकाइ अझ प्रभावकारी भएको छ।”
कार्यक्रमका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र थापाले विद्यालयले छोटो समयमै शिक्षा क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल भएको उल्लेख गरे। शिक्षक, अभिभावक र स्थानीय समुदायको सहकार्यकै कारण विद्यालय निरन्तर प्रगतिपथमा अघि बढिरहेको उनको भनाइ थियो।
“हामी केवल पढाइ मात्र होइन, विद्यार्थीको समग्र व्यक्तित्व विकासमा केन्द्रित भएर काम गरिरहेका छौँ,” थापाले भने, “आगामी दिनमा विद्यालयलाई अझ उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गर्ने लक्ष्य राखेका छौँ।”
विद्यालयका शिक्षक मिलन भट्टराईले संचालन गरेको कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो। साथै समाजमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो।
वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरूले प्रस्तुत गरेका नृत्य, गीत, नाटक, कविता वाचन तथा अन्य सांस्कृतिक कार्यक्रमहरूले उपस्थित दर्शकलाई आकर्षित गरेका थिए। साना बालबालिकादेखि उच्च कक्षासम्मका विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्दा अभिभावकहरू उत्साहित देखिन्थे।
विद्यालयले वर्षभरि सञ्चालन गरेका विभिन्न शैक्षिक, खेलकुद तथा सिर्जनात्मक गतिविधिहरूको झलक पनि कार्यक्रममा प्रस्तुत गरिएको थियो। यसले विद्यालय केवल औपचारिक शिक्षामा सीमित नभई विद्यार्थीको प्रतिभा र नेतृत्व क्षमता विकास गर्ने थलोका रूपमा अघि बढिरहेको सन्देश दिएको सहभागीहरूले बताएका थिए।
यसरी शिक्षा, संस्कार र सिर्जनशीलताको समन्वय गर्दै अघि बढिरहेको द राइजिङ इङ्गलिस बोर्डिङ स्कुलले प्रविधिमैत्री शिक्षण पद्धतिमार्फत भविष्यका सक्षम नागरिक तयार पार्ने लक्ष्यसहित आफ्नो यात्रा निरन्तर अघि बढाइरहेको विद्यालयले जनाएको छ।
