सुन्दरहरैचा- मोरङको सुन्दरहरैँचा–१० खोर्सानेस्थित बाल प्रतिभा इङ्लिस स्कुलको वार्षिक उत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सोमबार भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायको उत्साहजनक सहभागिता देखिएको थियो।

कार्यक्रममा जिल्ला प्याब्सन मोरङका कार्यकारी अध्यक्ष तथा माउन्ट एभरेस्ट सेकेण्डरी स्कूल डाँगीहाटका प्रिन्सिपल जगतबहादुर बस्नेत प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गीता सुवेदी दाहालको अध्यक्षता रहेको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक अल्का सेडाई र यम्सन ढकालले संयुक्त रूपमा गरेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्नेतले विद्यालयलाई विशेष गरी प्रविधिमैत्री शिक्षामा जोड दिँदै स्मार्ट कक्षा, डिजिटल सामग्रीको प्रयोग, ई–लर्निङ प्रणाली तथा आधुनिक शिक्षण विधिमार्फत विद्यार्थीलाई व्यवहारिक र प्रतिस्पर्धी बनाउन प्राथमिकता दिनु पर्ने बताएका छन्। उनले प्रविधिसँग जोडिएको शिक्षाले विद्यार्थीको सिकाइ क्षमतालाई अझ प्रभावकारी बनाउने बताए।

वार्षिकोत्सवकै अवसरमा आयोजना गरिएको “बालप्रतिभा सिङ्गिङ आईडल” प्रतियोगिताको ग्रान्ड फाइनल पनि सम्पन्न भएको थियो। प्रतियोगितामा सहभागी विद्यार्थीहरूले आफ्नो गायन प्रतिभा प्रस्तुत गर्दै दर्शकहरूको मन जितेका थिए। उत्कृष्ट प्रस्तुति दिने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेका नृत्य, गीत, नाटक, कविता वाचन तथा अन्य सांस्कृतिक प्रस्तुतिहरूले उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए। साना बालबालिकादेखि उच्च कक्षासम्मका विद्यार्थीहरूले आफ्नो कला र प्रतिभा प्रस्तुत गर्दा अभिभावकहरू निकै उत्साहित देखिएका थिए।कार्यक्रमका क्रममा विद्यालयले वर्षभरि सञ्चालन गरेका शैक्षिक, खेलकुद तथा सिर्जनात्मक गतिविधिहरूको झलक पनि प्रस्तुत गरिएको थियो। यसले विद्यालय केवल औपचारिक शिक्षामा सीमित नभई विद्यार्थीको प्रतिभा, नेतृत्व क्षमता तथा सिर्जनशीलता विकासमा पनि जोड दिइरहेको सन्देश दिएको सहभागीहरूले बताएका थिए।
यस अवसरमा विद्यालयका प्रिन्सिपल गणेश प्रसाद दाहालले शिक्षा, संस्कार र सिर्जनशीलताको समन्वय गर्दै विद्यालय अघि बढिरहेको बताए। उनले प्रविधिमैत्री शिक्षण पद्धतिमार्फत भविष्यका सक्षम, जिम्मेवार र प्रतिस्पर्धी नागरिक तयार पार्ने लक्ष्यका साथ विद्यालयले आफ्नो यात्रा निरन्तर अगाडि बढाइरहेको जानकारी दिए।
