विद्यार्थी प्रतिभाको चमकले झल्कियो क्वेष्ट इङ्लिस स्कुलको १६औँ वार्षिकोत्सव


shiva
Single Before Content Ad

सुन्दरहरैचा/ मोरङको सुन्दरहरैँचा–८ स्थित क्वेष्ट इङ्लिस स्कुलले आफ्नो १६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य र प्रेरणादायी वातावरणमा सम्पन्न गरेको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रम केवल औपचारिक समारोहमा सीमित नरही विद्यार्थीको प्रतिभा, शिक्षकको समर्पण र अभिभावकको विश्वासको जीवन्त संगमका रूपमा प्रस्तुत भएको देखिन्थ्यो।

मङ्गलबार भएको कार्यक्रममा सुन्दरहरैँचा नगरपालिका–८ का वडा अध्यक्ष खेम प्रसाद न्यौपानेको प्रमुख आतिथ्य रहेको थियो। उक्त कार्यक्रममा बोल्दै उनले गुणस्तरीय तथा प्रविधिमैत्री शिक्षा प्रदान गर्दै विद्यार्थीको सर्वाङ्गीण विकासमा खेलेको भूमिकाको प्रशंसा गर्दै यस्ता कार्यक्रमले विद्यार्थीको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै समाजप्रति जिम्मेवार नागरिक बन्न प्रेरित गर्ने बताएका थिए।

 कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालय प्रशासनले वार्षिक उत्सवलाई केवल उत्सव नभई एक वर्षभरि भएका शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरूको समग्र प्रतिबिम्ब प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरेको थियो। मन्तव्यमा यस्ता कार्यक्रमले विद्यार्थीमा रहेको प्रतिभा, सिर्जनशीलता र क्षमतालाई उजागर गर्दै उनीहरूलाई आत्मविश्वासी र सक्षम नागरिक बन्न प्रेरित गर्ने उल्लेख गरिएको थियो।

विद्यालय व्यवस्थापन समिति सदस्य केशव अधिकारीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट तथा विशेष अतिथिहरू, अभिभावक, पूर्वविद्यार्थी, शिक्षक–कर्मचारी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै संस्थापक प्रिन्सिपल दिपक क्षेत्रीले विद्यालयको शैक्षिक अवस्था, उपलब्धि तथा भावी योजनाबारे जानकारी दिँदै विद्यालयले प्रोजेक्ट–आधारित तथा प्रविधिमैत्री शिक्षण पद्धतिमा विशेष जोड दिइरहेको बताउनुभयो। उहाँका अनुसार हाल विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म करिब ५०० विद्यार्थी अध्ययनरत छन् भने ३० जना शिक्षक–शिक्षिका र ७/८ जना कर्मचारीहरू समर्पित रूपमा कार्यरत छन्।

उक्त बिद्यालयमा अध्यनरत विद्यार्थीहरुले आन्तरिक तथा बाह्य परीक्षामा सन्तोषजनक नतिजा हासिल गरेका छन्। विशेषगरी SEE तथा वार्षिक परीक्षामा उत्कृष्ट प्रदर्शनले विद्यालयको शैक्षिक स्तरलाई थप सुदृढ बनाएको विद्यालयले जनाएको छ।

कार्यक्रममा विद्यार्थीहरूको विविन्न सांस्कृतिक नृत्य, गायन, कविता वाचन, कथा वाचन तथा नाटक प्रस्तुतिले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो। शिक्षकहरूको नृत्य प्रस्तुति समेत कार्यक्रमको आकर्षण बनेको थियो।

उक्त अवसरमा गायन, नृत्य लगायत विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई नगद, मेडल, ट्रफी तथा प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो। साथै ‘स्टुडेन्ट अफ द इयर’ घोषणा गर्दै विशेष सम्मान प्रदान गरिएको थियो भने जेहेन्दार तथा उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति समेत वितरण गरिएको थियो।

विद्यालयले ज्येष्ठ नागरिक आमा पवित्रा देवी ढकाललाई सम्मान गर्नुका साथै समाजमा योगदान पुर्‍याउने व्यक्तित्व र सञ्चारकर्मीहरूलाई समेत कदर गरेको थियो। यसले विद्यालय र समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाएको देखिन्छ।

अतिरिक्त क्रियाकलाप, अनुशासन तथा व्यवस्थापनतर्फ विद्यालयले विद्यार्थीमा नैतिकता, जिम्मेवारी र सकारात्मक व्यवहार विकास गर्न विशेष ध्यान दिएको जनाएको छ। साथै भौतिक पूर्वाधार विकासअन्तर्गत कक्षा कोठा मर्मत, शैक्षिक सामग्री व्यवस्थापन तथा खेलकुद सामग्री विस्तार जस्ता कार्यहरू सम्पन्न गरिएको जानकारी दिइएको छ।

कार्यक्रमको अन्त्यमा विद्यालय प्रशासनले अभिभावक, शिक्षक–कर्मचारी, विद्यालय व्यवस्थापन समिति तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ।

समग्रमा, क्वेष्ट इङ्लिस स्कुलको १६औँ वार्षिक उत्सव शिक्षा, प्रतिभा र संस्कारको उत्कृष्ट संगमका रूपमा स्थापित भएको छ, जसले विद्यार्थीको उज्ज्वल भविष्य निर्माणतर्फ थप ऊर्जा र प्रेरणा प्रदान गरेको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार