सुन्दरहरैंचामा मकैको खोस्टाबाट ब्याग र सजावटी सामग्री बनाउने तालिम सञ्चालन


shiva
Single Before Content Ad

सुन्दरहरैंचा (मोरङ) – शिव भट्टराई भोजपुरे/
मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १२ मा उपमेयर सीप विकास कार्यक्रम अन्तर्गत मकैको खोस्टाबाट ब्याग, पर्स तथा विभिन्न सजावटी सामग्री निर्माण सम्बन्धी तालिम सञ्चालन भइरहेको छ।

स्थानीय महिलाहरूलाई सीपयुक्त बनाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिममा १५ जनाको सहभागिता रहेको नगरपालिकाले जनाएको छ। १५  दिन सम्म संचालन हुने तालिम मार्फत कृषि उत्पादनपछि प्रायः खेर जाने मकैको खोस्टालाई उपयोग गरी आयआर्जन गर्न सकिने हस्तकलाजन्य सामग्री निर्माणको सीप प्रदान गरिरहेको छ।

तालिम उद्घाटन तथा अनुगमनका क्रममा सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीले सीप विकास नै आर्थिक सशक्तीकरणको आधार भएको बताइन्। उनले नगरपालिकाले रोजगारी सिर्जना र स्वरोजगार प्रवर्द्धनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको उल्लेख गरिन्।

उपप्रमुख चौधरीले भनिन्, “सीप सिकौँ, स्वरोजगार बनौँ, समृद्ध नगर बनाऔँ भन्ने मूल नारालाई व्यवहारमा उतार्न नगरपालिकाले विभिन्न सीपमूलक तालिम सञ्चालन गरिरहेको छ। मकैको खोस्टाजस्तो सामान्य वस्तुलाई पनि आयआर्जनको स्रोतमा रूपान्तरण गर्न सकिन्छ। तालिमपछि सहभागीहरूले उत्पादन गरेका सामग्रीलाई बजारसँग जोड्न सके आर्थिक रूपमा थप सशक्त बन्न सक्नेछन्।”

त्यसैगरी महिला शाखाकि कर्मचारी साबित्री खड्काले स्थानीय स्रोत र साधनको सदुपयोग गर्दै उद्यमशीलता विकास गर्नु आजको आवश्यकता रहेको उल्लेख गर्दै तालिमले सहभागीहरूमा आत्मविश्वास बढाउने विश्वास व्यक्त गरिन्।

तालिममा सहभागीहरूले ब्याग, पर्स, फूलदानी, सजावटी सामग्री लगायत विभिन्न हस्तकला सामग्री निर्माणका व्यावहारिक सीप सिकिरहेका छन्। नगरपालिकाले यस्ता कार्यक्रम मार्फत स्थानीय स्तरमै रोजगारी सिर्जना गर्दै आत्मनिर्भर समाज निर्माणमा टेवा पुग्ने अपेक्षा गरेको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार