सुन्दरहरैँचा । शिव भट्टराई भोजपुरे, भाद्र २५ गते
सुन्दरहरैँचा नगर अस्पतालमा चारवटा विशेषज्ञ सेवा थप गरिएको छ। बुधबार आयोजित कार्यक्रममा नगरप्रमुख केदारप्रसाद गुरागाईंले सम्बन्धित चिकित्सकलाई बिरामी पुर्जा हस्तान्तरण गर्दै नयाँ विशेषज्ञ सेवाको शुभारम्भ गर्नुभएको हो।

अस्पतालमा वरिष्ठ जनरल फिजिसियन डा. सन्तोषकुमार महतो, वरिष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. सुरज दाहाल, वरिष्ठ नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. मनीषप्रसाद गुप्ता र वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. कल्पनाकुमारी यादवको सेवा थप गरिएको हो।

यसअघि अस्पताल प्रमुख डा. विशालचन्द्र सुवेदी विशेषज्ञ चिकित्सकका रूपमा कार्यरत रहनुभएकोमा नयाँ चार विशेषज्ञ थपिएसँगै अस्पतालमा उहाँसहित पाँच जना विशेषज्ञ चिकित्सकबाट सेवा सञ्चालन हुने अस्पताल प्रशासन प्रमुख बाबुराम भट्टराईले जानकारी दिनुभयो।

भट्टराईका अनुसार अस्पतालको नयाँ भवन निर्माण सम्पन्न भएपछि अपरेसन थिएटरसमेत सञ्चालन गर्ने योजना रहेको छ। अस्पतालले २०८० सालपछि आन्तरिक स्रोतबाटै सञ्चालन खर्च धान्न सक्ने अवस्थामा पुगेको उहाँले बताउनुभयो। अति विपन्न तथा गरिब नागरिकले अस्पतालबाट बढी सेवा लिइरहेको र बिरामीमैत्री सेवाका कारण नागरिकको विश्वाससमेत बढ्दै गएको उहाँको भनाइ छ।
नगरप्रमुख गुरागाईंले नगर अस्पताललाई नागरिकले सहज, गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा प्राप्त गर्ने केन्द्रका रूपमा विकास गर्नु नगरपालिकाको प्राथमिकता रहेको बताउनुभयो। विशेषज्ञ सेवा थप गर्दै लैजाने र सामान्य उपचारका लागि नागरिकलाई बाहिर जानुपर्ने बाध्यता कम गर्ने दिशामा नगरपालिका अघि बढिरहेको उहाँले बताउनुभयो।
उपप्रमुख अकली चौधरीले स्वास्थ्य सेवा नागरिकको आधारभूत आवश्यकता भएकाले नगर अस्पताललाई सबै वर्गका नागरिकले सहज रूपमा सेवा लिन सक्ने बनाइने बताउनुभयो। आवश्यक जनशक्ति, औषधी तथा उपकरणको विस्तारले सेवाग्राहीलाई प्रत्यक्ष लाभ पुग्ने उहाँको भनाइ छ।
प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले अस्पतालको सेवा विस्तारलाई चरणबद्ध रूपमा अघि बढाइएको जानकारी दिनुभयो। जनशक्ति व्यवस्थापन, औषधी आपूर्ति तथा प्रयोगशाला सेवाको विस्तारसँगै अस्पतालको सेवा प्रवाहमा सुधार आएको उहाँले बताउनुभयो।
विशेषज्ञ सेवा थपिएसँगै औषधी, प्रयोगशाला तथा उपचार सेवाको विस्तारले सुन्दरहरैँचाका नागरिकलाई स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा लिन थप सहज हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा वडाध्यक्ष, स्थानीयवासी तथा विभिन्न सामाजिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।




