सुन्दरहरैचामा नौमती बाजा बजाउने तालिम सुरु


shiva
Single Before Content Ad

सुन्दरहरैचा । जेष्ठ २१ गते

शिव भट्टराई भोजपुरे। नेपाली मौलिक सांस्कृतिक धरोहरको संरक्षण र महिलाको सशक्तीकरणलाई लक्षित गर्दै मोरङको सुन्दरहरैचा नगरपालिका–१० मा महिलाहरूका लागि नौमती बाजा बजाउने तालिम सुरु गरिएको छ। तालिम आमकास नेपालको आयोजनामा र सुन्दरहरैचा–१० वडा कार्यालयको आर्थिक सहयोगमा सुरु गरिएको हो।

तालिमको औपचारिक उद्घाटन सुन्दरहरैचा नगरपालिका नगरप्रमुख केदारप्रसाद गुरागाईंले गरेका हुन्। उद्घाटन समारोहमा बोल्दै उनले महिलालाई लक्षित गर्दै परम्परागत सीपमा आधारित यस्ता तालिमहरूले उनीहरूको आत्मनिर्भरता मात्र होइन, संस्कृति प्रति अभिरुचि र स्वाभिमान पनि बढाउने विश्वास व्यक्त गरे। “महिलाले नौमती बाजा बजाउने परम्परा दुर्लभ छ, यस्तो पहलले सामाजिक संरचना र सोचमा नयाँ परिवर्तन ल्याउन सक्छ,” गुरागाईंले भने।

कार्यक्रमको अध्यक्षता आमकास नेपाल सुन्दरहरैचाकी अध्यक्ष उमा सेडाईले गरेकी थिइन्। अध्यक्ष सेडाईले महिलाहरूलाई परम्परागत बाजा बजाउने सीप सिकाउने यो तालिम उदाहरणीय बन्ने बताउँदै, यस्ता कार्यक्रमले ग्रामीण महिलाको नेतृत्व क्षमतामा समेत टेवा पुर्‍याउने धारणा राखिन्।

कार्यक्रममा सामाजिक अभियन्ता नेत्र चौलागाईं, हिमालय इङ्लिस स्कुलका प्रिन्सिपल कमल खनाल, जनप्रतिनिधिहरू, सामाजिक अगुवा तथा स्थानियवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले महिलाको क्षमता अभिवृद्धि मात्र होइन, स्थानीय सांस्कृतिक धरोहरको जगेर्नामा समेत सकारात्मक प्रभाव पार्ने बताए।

तालिममा सहभागी महिलाहरूलाई सान, धमाहा, नाफिरी, झ्याली, कर्नाल, शहनाई लगायतका बाजाहरूको प्रयोग र समुहमा तालमेल मिलाएर बजाउने व्यावहारिक प्रशिक्षण दिइनेछ। कार्यक्रमको अन्त्यमा आयोजक संस्थाले महिलाहरूको आत्मविश्वास र सीप विकासमा यस्ता तालिमहरू भविष्यमा पनि निरन्तर सञ्चालन गरिने प्रतिबद्धता जनाएको थियो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार