सुन्दरहरैचा/
पछिल्लो केही दिनयता गर्मी बढे सङै सुन्दरहरैचा नगरपालिकामा आँखा पाक्ने समस्या बढ्न थालेको छ । विशेष गरेर बालबालिकामा तीव्र गतिमा यो रोग फैलिइरहेको छ । भीडभाड धेरै हुने सार्वजनिकस्थल यसको प्रमुख स्रोत बनेका छन् ।सरुवा रोग भएकाले आँखाको संक्रमण एकबाट अर्कोमा चाँडो सर्छ । पढ्नलाई विद्यालय जाने बालबालिकादेखि भिडभाडमा यात्रा गर्नेहरूबाट समुदायस्तरमै संक्रमण फैलिइरहेको छ ।
आइतबार सुन्दरहरैचा नगरपालिका भित्रका विभिन्न विधालयले अधिकांश विधार्थीहरुलाई घर फिर्ता पठाएको छ । विधार्थीहरुको आँखामा समस्या देखिएपछी अन्य विधार्थीहरुलाई पनि यो रोग सर्न सक्ने भन्दै विधालयले आँखा पाकेका वा आँखा रातो भएका विधार्थीहरुलाई अभिभावकको साथमा घर पठाएको हो ।
सुन्दरहरैचा नगरपालिकाले समेत एक विज्ञप्ती निकालेर सचेत हुन आग्रह गरेको छ । आइतबार एक विज्ञप्ती निकाल्दै नगरपालिकाले भनेको छ ” मौसमको परिवर्तन सगै विहत केही दिन देखी एडिनो भाइरस , ब्याक्टेरिया र अन्य कारणले हाल आँखाले उज्यालो हेर्न नहुने, एक्कासी आँखा रातो हुने, आशु आउने, पहेलो कचेरा आउने, परेला टालिने, आँखाको डिल सुनिने जस्ता लक्षण देखा परी आँखा पाक्ने रोग फैलिदो अवस्थामा छ । यसबाट बच्न सावधानी अपनाउन नगरले आग्रह गरेको छ ।”
कसरी बच्ने ?
१ं आँखालाई सधै स्वस्थ राख्न सम्भव भएसम्म स्वच्छ वातावरणमा बस्ने ।
२ं आँखा, अनुहारलाई धेरै नछुने
३.आँखा पाकेका व्यक्तिले प्रयोग गरेको तौलिया तथा लुगा, ओछ्यान प्रयोग नगर्ने ।
४.आँखामा कुनै पनि समस्या या लक्षण देखिए तुरुन्त विशेषज्ञद्वारा परीक्षण गराउने ।