सुन्दरहरैँचा (मोरङ) । असार २३ गते, शिव भट्टराई भोजपुरे
मोरङको सुन्दरहरैँचा नगरपालिका–५ स्थित पूर्वाञ्चल पब्लिक स्कुल आधुनिक, प्रविधिमैत्री र गुणस्तरीय शिक्षाको उत्कृष्ट उदाहरणका रूपमा स्थापित हुँदै गएको छ। कक्षा १ देखि १० सम्म अध्यापन गराउँदै आएको यस विद्यालयले नेपाल सरकारको निरन्तर मूल्याङ्कन प्रणाली (CAS) लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूको सिकाइलाई निरन्तर मूल्याङ्कनका आधारमा अगाडि बढाइरहेको छ।

विद्यालयले परम्परागत शिक्षण पद्धतिभन्दा फरक शैली अपनाउँदै डिजिटल प्रविधिमा आधारित शिक्षण लाई प्राथमिकता दिएको छ। विद्यार्थीहरूलाई सानैदेखि भविष्यका प्रविधिसँग परिचित गराउने उद्देश्यले Artificial Intelligence (AI), कोडिङ, प्रोग्रामिङ लगायतका विषयहरूलाई पनि पठनपाठनमा समावेश गरिएको छ। यसले विद्यार्थीहरूलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी २१औँ शताब्दीका आवश्यक सीपतर्फ उन्मुख बनाइरहेको छ।

विद्यालयले आफूलाई डिजिटल स्कुलका रूपमा रूपान्तरण गर्ने अभियानलाई तीव्रता दिएको छ। स्मार्ट कक्षा, डिजिटल सामग्रीको प्रयोग, कम्प्युटरमार्फत सिकाइ तथा प्रविधिमैत्री वातावरणले विद्यार्थीहरूको सिकाइलाई थप प्रभावकारी बनाएको विद्यालयको दाबी छ।

विद्यार्थीहरूको स्वास्थ्य र सुरक्षित वातावरणलाई पनि विद्यालयले विशेष प्राथमिकतामा राखेको छ। विद्यालय परिसरमा शुद्ध खानेपानीका लागि आधुनिक Water Filter Plant, प्राथमिक उपचार केन्द्र (First Aid Unit) तथा गर्मीयाममा विद्यार्थीलाई शीतल वातावरण उपलब्ध गराउने आवश्यक व्यवस्थासमेत गरिएको विद्यालय प्रशासनले सुन्दरहरैचा अपडेटलाई जानकारी दिएको छ ।
त्यसैगरी, विद्यालयमा सुविधा सम्पन्न कम्प्युटर ल्याब, समृद्ध पुस्तकालय (Library) तथा अतिरिक्त क्रियाकलापका माध्यमबाट विद्यार्थीको प्रतिभा विकास गर्ने वातावरण निर्माण गरिएको छ। विभिन्न सिर्जनात्मक, शैक्षिक, सांस्कृतिक तथा नेतृत्व विकाससम्बन्धी कार्यक्रमहरू नियमित सञ्चालन गरी विद्यार्थीहरूको क्षमता अभिवृद्धिमा जोड दिइँदै आएको छ।
विद्यालयले "एक विद्यार्थी, एक सीप" भन्ने अवधारणालाई व्यवहारमा उतार्दै हरेक विद्यार्थीलाई कम्तीमा एउटा व्यावहारिक सीपमा दक्ष बनाउने लक्ष्यका साथ कक्षा सञ्चालन गरिरहेको प्रिन्सिपल सन्तोष राईले बताएका छन्।
राईका अनुसार, विद्यालयको लक्ष्य विद्यार्थीलाई केवल परीक्षामा उत्कृष्ट बनाउनु मात्र नभई भविष्यका चुनौती सामना गर्न सक्ने दक्ष, सिर्जनशील र प्रविधिमैत्री नागरिकका रूपमा विकास गर्नु हो।
त्यसैगरी अध्यक्ष मोहन ढकालले विद्यार्थीलाई भविष्यको आवश्यकता अनुसार सक्षम, आत्मविश्वासी र सीपयुक्त बनाउन कदम चालिरहेको बताउदै विद्यालयले सामाजिक उत्तरदायित्व पूरा गर्दै रक्तदान स्वास्थ्य शिविर लगायत सामाजिक कार्य गर्दै आईरहेको बताएका छन्।
त्यस्तै, भाइस–प्रिन्सिपल भीमबहादुर राईले विद्यालयले विद्यार्थीलाई उत्कृष्ट शैक्षिक वातावरणसँगै सुरक्षित, स्वस्थ र सिर्जनशील वातावरण उपलब्ध गराएको बताएका छन्। उनका अनुसार कम्प्युटर ल्याब, पुस्तकालय, शुद्ध खानेपानी, प्राथमिक उपचार, अतिरिक्त क्रियाकलाप र सीपमूलक शिक्षामार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा विद्यालय प्रतिबद्ध रहेको छ।
आधुनिक प्रविधि, दक्ष शिक्षक, विद्यार्थीमैत्री वातावरण र गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धताका कारण पूर्वाञ्चल पब्लिक स्कुल पछिल्लो समय मोरङ मात्र होइन, प्रदेश तथा राष्ट्रिय स्तरमै उत्कृष्ट शैक्षिक संस्थाका रूपमा आफ्नो पहिचान स्थापित गर्दै अघि बढिरहेको छ। विद्यालयले प्रविधिसँगै नैतिक शिक्षा, अनुशासन, नेतृत्व क्षमता र जीवनोपयोगी सीपलाई समान महत्व दिँदै भविष्यका सक्षम नागरिक उत्पादन गर्ने लक्ष्यका साथ आफ्नो यात्रा निरन्तर अगाडि बढाइरहेको छ।




