सुन्दरहरैंचा (मोरङ)। शिव भट्टराई भोजपुरे, साउन १९ गते
‘समावेशी समाजको आधार, अपाङ्गता भएका व्यक्तिको अधिकार’ भन्ने मूल नाराका साथ मोरङको सुन्दरहरैंचा नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई विभिन्न प्रकारका सहायक सामग्री वितरण गरेको छ।
सुन्दरहरैंचा नगरपालिकाको आयोजनामा सञ्चालित ‘उपप्रमुखसँग अपाङ्गता कार्यक्रम’ तथा घरदैलो अभियानमार्फत पहिचान गरिएका अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूको आवश्यकता र अवस्थाका आधारमा सहायक सामग्री वितरण गरिएको हो।

अपाङ्गता परिचयपत्र वितरण समन्वय समितिकी संयोजक तथा नगरपालिकाकी उपप्रमुख अकली चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरप्रमुख केदारप्रसाद गुरागाईंको प्रमुख आतिथ्य रहेको थियो।

कार्यक्रम अन्तर्गत हिँडडुल गर्न अत्यन्तै कठिनाइ भएका तथा घरबाट बाहिर निस्कनसमेत असहज हुने अशक्त व्यक्तिहरूलाई नगरपालिकाको टोलीले घरमै पुगेर सहायक सामग्री वितरण गरेको थियो। अन्य अपाङ्गता भएका व्यक्तिहरूलाई भने सुन्दरहरैंचा नगरपालिका–४ को वडा कार्यालयमा कार्यक्रम आयोजना गरी सामग्री वितरण गरिएको हो।
नगरपालिकाले ८ वटा ह्विलचेयर, ७ वटा ट्वाइलेट चेयर, म्याट्रेस लगायतका सामग्री वितरण गरेको छ। यसका साथै श्रवण सहायक उपकरण, सेतो छडी, कृत्रिम अंग तथा अन्य सहायक उपकरण, दृष्टि सहायक सामग्री, वाकरलगायतका सामग्रीसमेत आवश्यकताका आधारमा वितरण गरिएको जनाइएको छ।
सहायक सामग्री प्राप्त गरेपछि लाभग्राहीहरूले भावुक हुँदै नगरपालिकाको सहयोगप्रति खुसी व्यक्त गरेका छन्। दैनिक जीवनमा हिँडडुल गर्न तथा सामान्य काम गर्नसमेत कठिनाइ भइरहेका बेला आवश्यक सामग्री प्राप्त हुँदा आफ्नो जीवन थप सहज हुने भन्दै उनीहरूले नगरपालिकालाई धन्यवाद दिएका छन्।
कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख केदारप्रसाद गुरागाईंले अपाङ्गता भएका व्यक्तिहरूलाई दयाको दृष्टिले नभई अधिकारका रूपमा हेर्नुपर्ने बताए। उनले स्थानीय सरकार अपाङ्गता भएका नागरिकको जीवन सहज, सम्मानजनक र आत्मनिर्भर बनाउन प्रतिबद्ध रहेको उल्लेख गर्दै आवश्यकताका आधारमा सहयोगलाई निरन्तरता दिइने बताए।
नगरप्रमुख गुरागाईंले नगरभित्रका कुनै पनि अपाङ्गता भएका व्यक्ति आवश्यक सेवाबाट वञ्चित हुन नहुनेमा जोड दिँदै आगामी दिनमा नगरका सबै वडामा रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई क्रमशः आवश्यकताका आधारमा सहायक सामग्री वितरण गरिने बताए।
कार्यक्रमकी अध्यक्ष तथा अपाङ्गता परिचयपत्र वितरण समन्वय समितिकी संयोजक अकली चौधरीले घरदैलो अभियानमार्फत अपाङ्गता भएका व्यक्तिहरूको वास्तविक अवस्था र आवश्यकता पहिचान गर्न सहज भएको बताइन्। उनले हिँडडुल गर्न नसक्ने तथा अत्यन्तै अशक्त व्यक्तिहरूलाई घरमै पुगेर सेवा दिनु कार्यक्रमको महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै अपाङ्गता भएका व्यक्तिहरूको अधिकार र सम्मानजनक जीवन सुनिश्चित गर्न नगरपालिकाले कार्यक्रमलाई निरन्तरता दिने बताइन्।
सुन्दरहरैंचा नगरपालिका–४ का वडाध्यक्ष कैलाश बस्नेतले अपाङ्गता भएका व्यक्तिहरूको अवस्था र आवश्यकताका आधारमा सहायक सामग्री वितरण गरिनु सकारात्मक काम भएको बताए। उनले स्थानीय तहबाट प्रदान गरिने यस्ता सेवाले अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवनमा प्रत्यक्ष सहयोग पुग्ने उल्लेख गरे।
कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका–८ का वडाध्यक्ष खेम न्यौपाने, वडा सदस्यहरू, जनप्रतिनिधि तथा अन्य सरोकारवालाहरूको समेत उपस्थिति रहेको थियो।
नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको पहिचान, आवश्यकता संकलन र सहायक सामग्री वितरणको कार्यलाई आगामी दिनमा समेत निरन्तरता दिने जनाएको छ। घरदैलो अभियानमार्फत पहिचान गरिएका अपाङ्गता भएका व्यक्तिहरूलाई क्रमशः आवश्यकता अनुसार सेवा र सामग्री उपलब्ध गराउँदै नगरका सबै वडासम्म कार्यक्रम विस्तार गरिने कार्यक्रमकि सहजकर्ता महिला तथा बालबालिका शाखा अधिकृत साबित्रा खड्काको भनाइ छ।




