सुन्दरहरैचामा ८४ वर्षमाथिका ज्येष्ठ नागरिकका लागि घरदैलोमै स्वास्थ्य सेवा सुरु, ९०० जनाले लाभ पाउने


Single Before Content Ad

सुन्दरहरैँचा, मोरङ। शिव भट्टराई भोजपुरे/

मोरङको सुन्दरहरैँचा नगरपालिकाले ८४ वर्ष माथिका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै “नगरप्रमुखसँग स्वास्थ्यकर्मी घरदैलो कार्यक्रम” सुरु गरेको छ। कार्यक्रम अन्तर्गत नगरभित्रका करिब ९०० जना ज्येष्ठ नागरिकले स्वास्थ्य सेवा प्राप्त गर्नेछन्।

नगरपालिकाको स्वास्थ्य शाखाको समन्वयमा स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको टोली घरदैलोमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गर्नेछ। उमेरका कारण स्वास्थ्य संस्थासम्म पुग्न कठिनाइ हुने नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको सुन्दरहरैँचा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अर्जुन भट्टराईले सुन्दरहरैचा अपडेटलाई जानकारी दिएका छन्।

कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिकको रक्तचाप (प्रेसर), मधुमेह (सुगर) लगायत विभिन्न स्वास्थ्य समस्याको परीक्षण गरिनुका साथै स्वास्थ्य अवस्थाको मूल्याङ्कन र आवश्यक परामर्श प्रदान गरिनेछ। आवश्यकता अनुसार थप उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा समेत सिफारिस गरिने उनले बताए।

ज्येष्ठ नागरिकलाई स्वास्थ्य संस्थासम्म पुग्नुपर्ने बाध्यता कम गर्दै घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। यसबाट समयमै स्वास्थ्य परीक्षण र आवश्यक परामर्श दिन सहज हुनेछ।”

त्यस्तै नगरप्रमुख केदार प्रसाद गुरागाईंले ज्येष्ठ नागरिकको सम्मान र स्वास्थ्य सुरक्षालाई नगरपालिकाले विशेष प्राथमिकतामा राखेको बताए। उनले भने, “स्थानीय सरकारको सेवा नागरिकको घरदैलोमै पुग्नुपर्छ भन्ने मान्यताअनुसार यो कार्यक्रम सुरु गरेका हौं। नगरभित्रका ८४ वर्षमाथिका करिब ९०० जना ज्येष्ठ नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरेका छौं।”

नगरपालिकाले कार्यक्रमलाई चरणबद्ध रूपमा सबै वडामा सञ्चालन गर्दै लक्षित सबै ज्येष्ठ नागरिकसम्म स्वास्थ्य सेवा पुर्‍याउने जनाएको छ। घरमै पुगेर स्वास्थ्य परीक्षण गरिने भएकाले कार्यक्रमले ज्येष्ठ नागरिक तथा उनीहरूका परिवारलाई समेत ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार