सुन्दरहरैचा/ पूर्वाञ्चल विश्वविद्यालयले आफ्नो स्थापनाको ३२ वर्ष पूरा गरेको अवसरमा शनिबार केन्द्रीय कार्यालय गोठगाउँमा भव्य समारोहका साथ ३२ औं वार्षिकोत्सव मनाएको छ । साता व्यापी रूपमा सञ्चालित विभिन्न खेलकुद तथा रचनात्मक कार्यक्रमहरूको समापनको साथै ३२ औं वार्षिकोत्सव समारोह सम्पन्न भएको हो।

समारोहका प्रमुख अतिथि कोशी प्रदेशका प्रदेश प्रमुख माननीय परशुराम खापुङले विश्वविद्यालयको गरिमा बढाउन गुणस्तरीय शिक्षा र अनुसन्धानमा जोड दिनुपर्ने बताउनुभयो । उहाले पूर्वाञ्चल विश्वविद्यालयले मुलुकको उच्च शिक्षाको क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा दक्ष जनशक्ति उत्पादनमा अझ सशक्त भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो।

कार्यक्रमका विशिष्ट अतिथि सुन्दरहरैचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईंले स्थानीय समुदाय र विश्वविद्यालयबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउनुपर्ने धारणा राख्नुभयो ।
मन्तव्यको क्रममा रजिष्ट्रार प्रा. डा. कल्याणी मिश्र त्रिपाठीले विश्वविद्यालयको स्थापना कालदेखि हालसम्मको शैक्षिक यात्रा, उपलब्धि तथा संस्थागत विकासमा शिक्षक, कर्मचारी र विद्यार्थीहरूको योगदानको चर्चा गर्नुभयो। उहाँले प्रशासनिक सुशासन, शैक्षिक गुणस्तर अभिवृद्धि, अनुसन्धान प्रवर्द्धन तथा डिजिटल प्रणालीको प्रभावकारी कार्यान्वयन मार्फत विश्वविद्यालयलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमको अध्यक्षता गर्नुभएको उपकुलपति प्रा.डा. विजु कुमार थपलियाज्यूले विश्वविद्यालयलाई शैक्षिक उत्कृष्टता, अनुसन्धान र सामाजिक उत्तरदायित्वको केन्द्रका रूपमा विकास गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । समापन मन्तव्यमा उहाँले ‘विश्वविद्यालयको ३२औँ वर्षको यात्रा उत्साहजनक रहेको र अब हामी संस्थागत सुशासन साथै आधुनिक प्रविधिमैत्री शिक्षातर्फ केन्द्रित हुनेछौं’ भन्दै कार्यक्रम समापन गर्नुभयो ।
समारोहमा सबै संकायका डीन, उपकुलपतिका सल्लाहकार, अनुगमन तथा मूल्यांकन केन्द्रका कार्यकारी निर्देशक, परीक्षा नियन्त्रक, प्रशासक, योजना महाशाखा प्रमुख, वि.वि.का पूर्व सभासद, विश्वविद्यालय सभाका सदस्यहरू लगायतको उपस्थिति रहेको थियो।
त्यस्तै कर्मचारी संघका सभापति रुपेश बस्नेत, प्राध्यापक संघका सभापति नरेशकुमार साह लगायतले आफ्नो मन्तव्य राख्नु भएको थियो भने विश्वविद्यालयका सम्पूर्ण निकायका प्रमुखज्यूहरु साथै कर्मचारीहरुको उपस्थिति रहेको थियो । सोही अवसरमा साताव्यापी भएको खेलकुद कार्यक्रममा संलग्न प्रतियोगिताका विजेताहरूलाई पुरस्कार तथा सम्मान समेत प्रदान गरिएको थियो ।

