सुन्दरहरैचा/ पौष २५ गते

मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई विशेष सम्मान गरिएको छ। पत्रकारिताको माध्यमबाट शिक्षा, सामाजिक चेतना र स्थानीय विकासका गतिविधिलाई निरन्तर उजागर गर्दै आएको योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँलाई दोसल्ला ओढाएर तथा सम्मान पत्र सहित सम्मान गरिएको हो।

हसिना मिडिया प्रा.लि.द्वारा सञ्चालित सुन्दरहरैचा अपडेट का सञ्चालक भट्टराईले लामो समयदेखि सुन्दरहरैचा तथा आसपासका क्षेत्रका शैक्षिक गतिविधि, सामाजिक अभियान, सामुदायिक कार्यक्रम र सकारात्मक समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्दै आएका छन्। उहाँको जिम्मेवार, तथ्यपरक र समाजमुखी पत्रकारिताले विद्यालय, अभिभावक र समुदायबीच सहकार्य बढाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै विद्यालय परिवारले सम्मान प्रकट गरेको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोभितमान पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीको प्रमुख आतिथ्य रहेको थियो।वार्षिक उत्सवको अवसरमा विद्यालयले दाहाल छात्रवृत्ति तथा नरेन्द्रप्रसाद सिटौला स्मृति छात्रवृत्ति वितरण, कक्षा १ देखि १० सम्मका परीक्षामा उत्कृष्ट हुने विद्यार्थी, अनुशासित विद्यार्थी तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थी, असल अभिभावक लगायत लाई पुरस्कार वितरण गरेको थियो। साथै विद्यालयले निवर्तमान सहायक प्रधानाध्यापक केदारप्रसाद पौडेल र शिक्षिका अमृता भट्टराईलाई सम्मानसहित विदाइ गरेको थियो।

उक्त कार्यक्रममा सुन्दरहरैचाका जनप्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रमुख, शिक्षा प्रेमी, विभिन्न विद्यालयका प्रधानाध्यापक, सामाजिक व्यक्तित्व तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यार्थीहरूले प्रस्तुत गरेको सांस्कृतिक नृत्य तथा जनचेतनामूलक नाटकले कार्यक्रममा थप रौनकता ल्याएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपप्रमुख चौधरीले विद्यालयको योगदानको प्रशंसा गर्दै जनता माध्यमिक विद्यालयले शैक्षिक क्षेत्रसँगै अनुशासन र संस्कारको विकासमा उल्लेखनीय भूमिका खेलेको बताउनु भएको छ। उहाँले नगरपालिकाको तर्फबाट यस्ता सामुदायिक विद्यालयको प्रवर्द्धनमा निरन्तर सहयोग रहने बताउनुभयो।
कार्यक्रममा आफ्नो भनाई राख्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पौडेलले विद्यालयको शैक्षिक उन्नति, अनुशासन र भौतिक विकासका लागि शिक्षक, अभिभावक र समुदायको साझा प्रयास आवश्यक रहेको बताउनु भएको छ। सबैको सहयोगले विद्यालयलाई अझ नमुना बनाउने लक्ष्य लिएको उहाँले बताउनु भयो।
विद्यालयका शिक्षक डिल्ली प्रसाद भट्टराई र कमला खड्काले संचालन गरेको कार्यक्रममा विद्यालयकी शिक्षिका जानुका ढकालले स्वागत मन्तव्य राख्नु भएको थियो। त्यसैगरी सुन्दरहरैचा–७ का वडाध्यक्ष भुवन सिंह आले मगर, सिटौला छात्रवृत्ति अक्षयकोषका संस्थापक तेजप्रसाद सिटौला, सुकुना बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा शिक्षा प्रेमी पितकुमार श्रेष्ठ, पूर्व प्रधानाध्यापक तथा विद्यालयका संस्थापक सदस्य रुद्रप्रसाद दुलाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो।

