हरियाली प्रवर्द्धनका लागि हसिना सिमसारमा लायन्स क्लब अफ गछियाको वृक्षारोपण अभियान


shiva
Single Before Content Ad

शिव भट्टराई भोजपुरे, सुन्दरहरैँचा, मोरङ ।असार २९ गते

सामाजिक उत्तरदायित्व अन्तर्गत लायन्स क्लब अफ गछियाले आइतबार मोरङको सुन्दरहरैँचा–५ स्थित हसिना सिमसार सामुदायिक वन क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

क्लबका अध्यक्ष अनिल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फर्स्ट भाइस डिस्ट्रिक्ट गभर्नर रमेश खत्री प्रमुख अतिथि तथा सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर उदयनारायण बराल विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा प्रोग्राम कोअर्डिनेटर तथा चेयरपर्सन मातृका चापागाईं, जोन चेयरपर्सन पुष्पा सिग्देल, हसिना सिमसार सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष घनश्याम न्यौपाने लगायत लायन्स सदस्य तथा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन क्लबकी सचिव कल्पना शर्माले गर्नुभएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा भावी पुस्ताका लागि स्वच्छ वातावरण निर्माणमा वृक्षारोपणको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। उहाँले यस्ता सामाजिक अभियानलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जानकारी दिनुभयो।

प्रमुख अतिथि रमेश खत्रीले वृक्षारोपण जलवायु परिवर्तनका असर न्यूनीकरण, वातावरण संरक्षण, जैविक विविधताको संवर्द्धन तथा हरियाली समाज निर्माणका लागि प्रभावकारी माध्यम भएको उल्लेख गर्नुभयो। उहाँले समाजप्रति उत्तरदायी यस्ता अभियानमा लायन्स क्लबहरूले अझ सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो।

कार्यक्रम अन्तर्गत हसिना सिमसार क्षेत्रमा आँप, कटहर, कागती, जामुन, लिचीलगायत विभिन्न प्रजातिका फलफूलका बिरुवा रोपिएको सहसचिव अनन्त घिमिरेले जानकारी दिनुभएको छ। सहभागीहरूले रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाहमा समेत प्रतिबद्धता जनाएका थिए।

वातावरण संरक्षण र समुदायमा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त वृक्षारोपण कार्यक्रम स्थानीयवासी, लायन्स सदस्य तथा सरोकारवालाको सक्रिय सहभागितामा सम्पन्न भएको क्लबले जनाएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार