सुन्दरहरैंचा, शिव भट्टराई भोजपुरे—
मोरङको सुन्दरहरैंचा–१० स्थित हातेमालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३औं वार्षिक साधारणसभा तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। 
कार्यक्रम सुन्दरहरैंचा–९ विराटचोक स्थित जेसिज मंगल स्मृति प्रतिष्ठानको प्राङ्गणमा सम्पन्न भएको थियो। शनिबार सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदार प्रसाद गुरागाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष हेमराज सुवेदीको अध्यक्षता रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरागाईले यस सहकारी संस्थाले स्थानीय स्तरमा आत्मनिर्भरता र समुदाय विकासमा पुर्याउँदै आएको योगदानको प्रशंसा गरेका छन्। उहाँले सहकारीले उत्पादन र उद्यमशीलतालाई प्राथमिकता दिएर अघि बढेमा स्थायी आर्थिक रूपान्तरण सम्भव हुने बताउँदै हातेमालो सहकारीको निरन्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका थिए। साधारणसभाको प्रारम्भमा सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको थियो।

साधारण सभामा सहकारीका पदाधिकारी, सेयर सदस्य, स्थानीय समाजसेवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साधारणसभामा संस्थाको वार्षिक प्रगति विवरण, नीति, कार्यक्रम र बजेटमाथि विस्तृत छलफल गरिएको थियो। त्यसैगरी सोही अवसरमा जेष्ठ सेयर सदस्य, उत्कृष्ट ऋणी, नियमित बचतकर्ता, बाल बचतकर्ता र उत्कृष्ट विद्यार्थीलाई सम्मान तथा प्रशंसा पत्र वितरण गरिएको थियो। सहकारीले आफ्नो आर्थिक र सामाजिक योगदानलाई विस्तार गर्दै हातेमालो लघु उद्योग पनि संचालन गरिरहेको छ त्यसैगरी यस संस्थाले उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थ (raw materials) उपलब्ध गराउने सेयर सदस्यहरूलाई साधारणसभाको अवसरमा सम्मान गरेको छ।
संस्थाका अध्यक्ष हेमराज सुवेदीले संस्थाले आर्थिक मात्र नभई सामाजिक क्षेत्रमै पनि सक्रिय भूमिका खेल्दै आएको बताएका छन्। यस कार्यक्रमले हातेमालो सहकारीको २३ वर्षे सफल यात्रालाई अझ मजबुत बनाउँदै सहकारी, उत्पादन र सामाजिक उत्तरदायित्वको सन्तुलनको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको सहभागीहरूले बताएका छन्।

