टंकी सबस्टेशनको ओभरलोड समस्या समाधान, विराटनगरमा विद्युत् आपूर्ति थप भरपर्दो


shiva
Single Before Content Ad

विराटनगर, असार २९।

नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रले टंकी सबस्टेशनमा देखिएको अत्यधिक विद्युत् भार (ओभरलोड) को समस्या समाधान गर्न आवश्यक प्राविधिक व्यवस्थापन गरेपछि विराटनगरका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सहज र थप भरपर्दो बनेको जनाएको छ।

वितरण केन्द्रका प्रमुख राम उदगार शाहका अनुसार ३३/११ केभी टंकी सबस्टेशनअन्तर्गत सञ्चालनमा रहेको ३३ केभी विराटनगर–३ फिडरमा पछिल्लो समय विद्युत् माग उल्लेख्य रूपमा बढ्दै गएपछि ओभरलोडको अवस्था सिर्जना भएको थियो। यसले विद्युत् आपूर्तिको गुणस्तर तथा प्रणालीको स्थायित्वमा असर पार्ने सम्भावना देखिएपछि प्राधिकरणले तत्काल प्राविधिक उपाय अपनाएको हो।

उहाँका अनुसार सबस्टेशनमा जडान गरिएका दुईवटा २४ एमभीए क्षमताका पावर ट्रान्सफर्मरको सञ्चालन प्रणाली पुनः व्यवस्थित गरिएको छ। यस क्रममा पावर ट्रान्सफर्मर नम्बर १ लाई ३३ केभी विराटनगर–२ फिडरसँग र पावर ट्रान्सफर्मर नम्बर २ लाई ३३ केभी विराटनगर–३ फिडरसँग सञ्चालनमा ल्याइएको छ।

यो व्यवस्थापनपछि विराटनगर–३ फिडरमा देखिएको ओभरलोडको समस्या हटेको प्राधिकरणले जनाएको छ। साथै दुवै पावर ट्रान्सफर्मरमा विद्युत् भार सन्तुलित रूपमा वितरण भएकाले सम्पूर्ण प्रणाली अझ सुरक्षित, स्थिर र प्रभावकारी बनेको वितरण केन्द्रको दाबी छ।

प्रमुख शाहका अनुसार हाल सम्बन्धित सबै क्षेत्रमा विद्युत् आपूर्ति नियमित र निर्वाध रूपमा भइरहेको छ। लोड सन्तुलन कायम भएपछि आकस्मिक अवरोधको सम्भावना पनि घटेको र विद्युत् वितरण प्रणालीको कार्यक्षमता थप सुदृढ भएको उहाँले बताउनुभयो।

नेपाल विद्युत् प्राधिकरणले बढ्दो विद्युत् मागलाई मध्यनजर गर्दै आवश्यकताअनुसार वितरण प्रणालीको स्तरोन्नति, उपकरणको क्षमता विस्तार तथा लोड व्यवस्थापनलाई निरन्तरता दिने जनाएको छ। यसबाट उपभोक्ताले अझ गुणस्तरीय, सुरक्षित र भरपर्दो विद्युत् सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

प्राधिकरणले विद्युत् प्रणालीलाई आधुनिक र प्रभावकारी बनाउने उद्देश्यका साथ विभिन्न स्थानमा यस्ता प्राविधिक सुधारका कार्यलाई निरन्तर अघि बढाइरहेको जनाएको छ। यस्ता व्यवस्थापनले भविष्यमा विद्युत् आपूर्तिमा देखिन सक्ने समस्या न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार