रास्वपा सुन्दरहरैँचा–९ को तीनदिने निःशुल्क उद्घोषण तालिम सम्पन्न, थप जनमुखी कार्यक्रम पनि आयोजना गर्ने


shiva
Single Before Content Ad

शिव भट्टराई भोजपुरे, सुन्दरहरैँचा, मोरङ। असार २९ गते

मोरङको सुन्दरहरैँचा स्थित बिराटचोकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वडा नं. ९ समितिको आयोजनामा तीनदिने निःशुल्क उद्घोषण तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

स्थानीय युवायुवतीहरुको व्यक्तित्व विकास, सार्वजनिक रूपमा प्रभावकारी रूपमा बोल्ने क्षमता अभिवृद्धि तथा सञ्चार सीप विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा ४० जनाको सहभागिता रहेको थियो। तालिमको सहजीकरण प्रशिक्षक लक्ष्मी ढुंगानाले गर्नुभएको थियो।

तालिम समापन कार्यक्रममा रास्वपा सुन्दरहरैँचा वडा नं. ९ का सभापति शिवनारायण पौडेलको सभाध्यक्षता रहेको थियो। कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रेमलाल चौधरीको प्रमुख आतिथ्य रहेको थियो।

कार्यक्रममा विशेष अतिथि रास्वपा सुन्दरहरैँचा नगर सभापति टेकमणि न्यौपाने साथै नगर समितिका पदाधिकारी, विभिन्न विभागका प्रमुख तथा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो।समापन कार्यक्रममा तालिममा सहभागी व्यक्तित्वहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रेमलाल चौधरीले युवाको व्यक्तित्व विकास र नेतृत्व क्षमता अभिवृद्धिका लागि यस्ता सीपमूलक तालिम प्रभावकारी हुने बताउनुभयो। उहाँले स्थानीय तहमा नागरिकको क्षमता विकास गर्ने कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

समापन समारोहलाई सम्बोधन गर्दै सभापति पौडेलले उद्घोषण तालिमले सहभागीहरूमा आत्मविश्वास वृद्धि हुनुका साथै सार्वजनिक प्रस्तुति र सञ्चार सीप विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले कार्यक्रमलाई सभ्य र भव्य रूपमा सफल बनाउन सहयोग गर्ने सम्पूर्ण शुभेच्छुक, अतिथि, प्रशिक्षक तथा सहभागीप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभएको थियो।

समापनका अवसरमा वडा समितिले आगामी दिनमा सञ्चालन गरिने विभिन्न जनमुखी कार्यक्रमहरू पनि सार्वजनिक गरेको छ। सार्वजनिक योजना अनुसार निजी विद्यालयका शैक्षिक गतिविधि, परीक्षा शुल्कलगायत विषयमा विद्यालयसँग छलफल गरिने, वडा समिति र नगर समितिबीच नियमित अन्तरक्रिया आयोजना गरिने, निजी तथा सामुदायिक विद्यालयका बस चालक, सहचालक र सिटी सफारी चालकलाई ट्राफिक प्रहरीमार्फत सडक सुरक्षा सम्बन्धी प्रशिक्षण प्रदान गरिने, अभिभावक सचेतना कार्यक्रम सञ्चालन गरिने तथा वडाभित्रका स्वास्थ्य चौकी र अन्य सार्वजनिक संस्थाको अनुगमन गरिने जनाएको छ।

रास्वपा वडा नं. ९ ले आगामी दिनमा पनि स्थानीय समुदायको क्षमता अभिवृद्धि, नेतृत्व विकास तथा सीपमूलक कार्यक्रमहरूलाई निरन्तरता दिँदै लैजाने जनाएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार