सुन्दरहरैँचा । शिव भट्टराई भोजपुरे। आश्विन १३ गते
मोरङको सुन्दरहरैँचा–१० स्थित सुकुना माध्यमिक विद्यालय बाघझोडा ब्लकमा अध्ययनरत अटिजम भएका विद्यार्थीहरूका लागि खाद्यान्न तथा आवश्यक सामग्री हस्तान्तरणसँगै परामर्श कार्यक्रम सञ्चालन गरिएको छ।

लायन्स क्लब अफ इन्द्रपुर, लायन्स क्लब अफ विराटचोक सिटी र लायन्स क्लब अफ खोर्सानेको संयुक्त आयोजनामा Goods Handover तथा Counseling Program सञ्चालन गरिएको हो। कार्यक्रममा अटिजम भएका विद्यार्थीहरूलाई खाद्यान्न तथा दैनिक प्रयोगमा आवश्यक सामग्री हस्तान्तरण गर्नुका साथै उनीहरूको सिकाइ, व्यवहार, दैनिक जीवन र समावेशी शिक्षासँग सम्बन्धित विषयमा परामर्श प्रदान गरिएको थियो।
परामर्शका क्रममा अटिजम भएका विद्यार्थीहरूको आवश्यकता र क्षमतालाई बुझेर उनीहरूलाई सहयोग गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइएको थियो। विद्यार्थीको सिकाइ प्रक्रिया सहज बनाउन परिवार, विद्यालय, शिक्षक तथा समुदायबीचको सहकार्य आवश्यक रहेको विषयमा समेत छलफल गरिएको थियो।
कार्यक्रममा विद्यार्थीहरूको दैनिक आवश्यकता, शिक्षा तथा सामाजिक सहभागिताका विषयमा अभिभावक तथा शिक्षकसँग समेत अन्तरक्रिया गरिएको थियो। विशेष आवश्यकता भएका विद्यार्थीलाई सहयोग गर्दा उनीहरूको व्यक्तिगत क्षमता र आवश्यकतालाई प्राथमिकतामा राख्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
कार्यक्रममा बोल्दै लायन्स क्लब अफ इन्द्रपुरकी अध्यक्ष योजना शर्माले अटिजम भएका विद्यार्थीलाई सहयोग गर्नु भनेको सामग्री हस्तान्तरण गर्नु मात्रै नभई उनीहरूको आवश्यकता बुझेर निरन्तर साथ दिनु रहेको बताउनु भयो। उहाँले भन्नुभयो, “अटिजम भएका बालबालिकाको क्षमता पहिचान गरी उनीहरूलाई सहज र सम्मानजनक वातावरणमा अघि बढाउन परिवार, विद्यालय र समुदाय सबैको सहकार्य आवश्यक छ।”
शर्माले परामर्श मार्फत अभिभावक तथा शिक्षकलाई विद्यार्थीको व्यवहार र आवश्यकतालाई बुझ्न थप सहज हुने बताउँदै यस्ता कार्यक्रमले विशेष आवश्यकता भएका विद्यार्थीप्रति समाजको दृष्टिकोण अझ सकारात्मक बनाउन सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो।
उहाँले लायन्स क्लबले सामाजिक सेवाका कार्यक्रमलाई केवल तत्कालीन सहयोगमा सीमित नराखी आवश्यकता भएका समुदाय र विद्यार्थीको दीर्घकालीन हितमा केन्द्रित गर्दै लैजाने बताउनु भयो।
कार्यक्रममा तीनवटै लायन्स क्लबका पदाधिकारी तथा सदस्य, विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीहरूको सहभागिता रहेको थियो। खाद्यान्न तथा आवश्यक सामग्री हस्तान्तरणसँगै गरिएको परामर्श कार्यक्रमले अटिजम भएका विद्यार्थीको शिक्षा, दैनिक जीवन र समावेशी विकासमा परिवार तथा समुदायको भूमिकाबारे थप सचेतना जगाएको आयोजकको भनाइ छ।




