सुन्दरहरैचा, असार १२ गते
मोरङ –शिव भट्टराई भोजपुरे/ मोरङको सुन्दरहरैचा नगरपालिका वार्ड नं १ मा रहेको सुन्दरहरैचा नगर अस्पतालको प्रशासनिक भवनको शिलान्यास कार्यक्रम विधिवत रूपमा सम्पन्न भएको छ। आज बुधबार नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाई र उपप्रमुख अकली चौधरीले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन्।
कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपाने, जनप्रतिनिधि, विभिन्न राजनीतिक, सामाजिक तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख गुरागाईले अस्पतालको प्रशासनिक भवनको निर्माणले अस्पतालको सेवा प्रवाह अझ छरितो र प्रभावकारी बनाउने बताउदै नगरपालिकाले नयाँ आर्थिक वर्षबाट नगर अस्पताल २४ घण्टा संचालन गर्ने गरि निति तथा कार्यक्रम ल्याएको बताएका छन्।
उपमेयर अकली चौधरीले यो भवनले स्वास्थ्य सेवा व्यवस्थापनलाई थप व्यवस्थित बनाउन सहयोग पुर्याउने बताउँदै, सबै सरोकारवालाको सहकार्यमा आगामी दिनमा अझ गुणस्तरीय सेवाका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
उक्त भवन निर्माण नगरपालिकाको वार्षिक योजना अन्तर्गत अघि बढाइएको हो। निर्माण सम्पन्न भएपछि उक्त भवनमा प्रशासनिक शाखा, अभिलेख कक्ष, परामर्श सेवा तथा कर्मचारी व्यवस्थापनका लागि आवश्यक अत्याधुनिक पूर्वाधार रहनेछ।
स्थानीय बासिन्दाहरूले अस्पतालको पूर्वाधार विकासप्रति खुसी व्यक्त गर्दै अझ सेवा विस्तारको माग गरेका थिए।