पूर्वाञ्चल पब्लिक स्कुलको भाइस प्रिन्सिपलमा भीम बहादुर राई


Single Before Content Ad

पुष १३ गते। सुन्दरहरैचा/ 

डिजिटल शिक्षण प्रणाली मार्फत सुन्दरहरैंचा क्षेत्रमै छुट्टै पहिचान बनाएको पूर्वाञ्चल पब्लिक स्कुलले शैक्षिक नेतृत्वमा नयाँ ऊर्जा थपेको छ। मोरङको सुन्दरहरैंचा–५ स्थित उक्त विद्यालयको भाइस प्रिन्सिपल पदमा भीम बहादुर राई नियुक्त भएका छन्।

विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार उनलाई जिम्मेवारी दिइएको हो। लामो समयदेखि शिक्षण पेशामा आबद्ध राई अनुभव, अनुशासन र शैक्षिक नवप्रवर्तनका लागि चिनिन्छन्। उनले यसअघि पनि विभिन्न शैक्षिक संस्थामा रहेर नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन्।

विद्यालयका प्रिन्सिपल सन्तोष कुमार राईका अनुसार विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थी–केन्द्रित सिकाइ प्रणाली तथा व्यवस्थापकीय सुधारलाई प्रभावकारी बनाउन राईलाई भाइस प्रिन्सिपलको जिम्मेवारी दिइएको हो। उनको कार्यकालमा आधुनिक शिक्षण पद्धतिको कार्यान्वयन अझ मजबुत हुने अपेक्षा गरिएको छ।

नवनियुक्त भाइस प्रिन्सिपल भीम बहादुर राईले विद्यालयको समग्र विकास आफ्नो प्रमुख प्राथमिकता हुने उल्लेख गर्दै शिक्षक, अभिभावक र विद्यार्थीबीच सहकार्यलाई बलियो बनाउँदै शिक्षण–सिकाइलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका छन्।

उनको नियुक्ति सँगै विद्यालय परिवार, शिक्षक–कर्मचारी, अभिभावक तथा शुभेच्छुकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। विद्यालयका अध्यक्ष मोहन प्रसाद ढकालले पनि राईको नेतृत्वमा विद्यालयको शैक्षिक उपलब्धि अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।

विद्यालयले कक्षा १ देखि १० सम्म स्मार्ट कक्षा सञ्चालन गर्दै डिजिटल स्मार्ट बोर्डमार्फत आधुनिक सिकाइ प्रणाली लागू गरिरहेको छ, जसले विद्यालयलाई सुन्दरहरैंचा क्षेत्रकै नमुना शैक्षिक संस्थाको रूपमा स्थापित गर्न मद्दत पुर्‍याएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार