शिव भट्टराई भोजपुरे/
पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पदमा प्रा. डा. देवेन्द्र अधिकारी नियुक्त हुनु भएको छ। साथै आज आइतबार विश्वविद्यालय सेवा आयोगको सदस्य पदमा प्रा.डा. समि लामा नियुक्त हुनु भएको छ।

सेवा आयोगका निर्वतमान अध्यक्ष महेशराज दाहाल अवकास भईसकेको लामो समय सम्म रिक्त रहेको पदमा आज एक कार्यक्रम बिच नयाँ अध्यक्षले पदभार ग्रहण गर्नु भएको हो।
नवनियुक्त अध्यक्ष तथा सदस्य दुवै जनाको गोठगाउँ स्थित पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगको कार्यालयमा आज औपचारिक रूपमा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ। पदस्थापन कार्यक्रम मार्फत उहाँहरूले आ–आफ्नो जिम्मेवारी औपचारिक रूपमा सम्हाल्नु भएको हो।
कार्यक्रममा विश्वविद्यालय सेवा आयोगको कार्यक्षमता अभिवृद्धि, पारदर्शिता कायम गर्ने तथा शैक्षिक गुणस्तर उकास्न नवनियुक्त पदाधिकारीहरूको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गरिएको छ। नवनियुक्त पदाधिकारीहरुले पदभार ग्रहण गर्ने क्रममा विश्वविद्यालयको शैक्षिक प्रशासनलाई थप सबल, निष्पक्ष र प्रभावकारी बनाउने दिशामा आफ्नो नेतृत्वबाट सकारात्मक योगदान पुर्याउने र सबै संग सहकार्य गरेर अघि बढ्ने जनाएका छन्।
सोही क्रममा नवनियुक्त पदाधिकारीहरूलाई पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. बिजु कुमार थपलिया, रजिस्ट्रार डा.कल्याणी मिश्र, चिकित्साशास्त्र संकायका डिन डा.शैलेशमणी पोख्रेल लगायत विश्वविद्यालयका पदाधिकारीहरूले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो। कार्यक्रममा विश्वविद्यालयका प्राध्यापक, कर्मचारी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
