जनता मावि त्रिजुगाको ५९औँ वार्षिक उत्सव सम्पन्न, छात्रवृत्ति र सम्मानले शैक्षिक उत्साह


Single Before Content Ad

सुन्दरहरैचा/ मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ। बिहीवार विद्यालय परिसरमा आयोजित कार्यक्रममा अभिभावक दिवस, दाहाल छात्रवृत्ति तथा नरेन्द्रप्रसाद सिटौला स्मृति छात्रवृत्ति वितरण कार्यक्रम समेत सम्पन्न गरिएको हो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोभितमान पौडेलको अध्यक्षता रहेको थियो भने सुन्दरहरैचा नगरपालिकाकी उपप्रमुख अकली चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। वार्षिक उत्सवको अवसरमा विद्यालयले दाहाल अक्षयकोषबाट विद्यार्थी सम्मान, सिटौला अक्षयकोषबाट छात्रवृत्ति वितरण तथा निरबहादुर भण्डारीद्वारा एस.ई.ई. परीक्षामा उत्कृष्ट जी.पी.ए. ल्याउने विद्यार्थीलाई पुरस्कार वितरण गरेको थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक देवराज भट्टराईले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधार विकास र विद्यार्थीको समग्र विकासमा विद्यालयले निरन्तर प्रयास गरिरहेको जानकारी दिनुभयो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपप्रमुख चौधरीले विद्यालयको योगदानको प्रशंसा गर्दै जनता माध्यमिक विद्यालयले शैक्षिक क्षेत्रसँगै अनुशासन र संस्कारको विकासमा उल्लेखनीय भूमिका खेलेको बताउनु भएको छ। उहाँले नगरपालिकाको तर्फबाट यस्ता सामुदायिक विद्यालयको प्रवर्द्धनमा निरन्तर सहयोग रहने बताउनु भयो।

कार्यक्रममा आफ्नो भनाई राख्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोभितमान पौडेलले विद्यालयको शैक्षिक उन्नति, अनुशासन र भौतिक विकासका लागि शिक्षक, अभिभावक र समुदायको साझा प्रयास आवश्यक रहेको बताउनु भएको छ। सबैको सहयोगले विद्यालयलाई अझ नमुना बनाउने लक्ष्य लिएको उहाले बताउनु भयो।

विद्यालयका शिक्षक डिल्ली प्रसाद भट्टराई र कमला खड्काले संचालन गरेको कार्यक्रममा विद्यालयकी शिक्षिका जानुका ढकालले स्वागत मन्तव्य राख्नु भएको थियो। त्यसैगरी सुन्दरहरैचा–७ का वडाध्यक्ष भुवन सिंह आले मगर, सिटौला छात्रवृत्ति अक्षयकोषका संस्थापक तेजप्रसाद सिटौला, सुकुना बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा शिक्षा प्रेमी पितकुमार श्रेष्ठ, पूर्व प्रधानाध्यापक तथा विद्यालयका संस्थापक सदस्य रुद्रप्रसाद दुलाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो।

सोही अवसरमा विद्यालयले कक्षा १ देखि १० सम्मका परीक्षामा उत्कृष्ट हुने विद्यार्थी, अनुशासित विद्यार्थी तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेको थियो। साथै विद्यालयले निवर्तमान सहायक प्रधानाध्यापक केदारप्रसाद पौडेल र शिक्षिका अमृता भट्टराईलाई सम्मानसहित विदाइ गरेको थियो।

बिद्यालयले वार्षिकउत्सव कै अवसरमा पत्रकारिताको माध्यमवाट समाज र शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै हसिना मिडिया प्रा.लि द्वारा सञ्चालित सुन्दरहरैचा अपडेटका संचालक शिव भट्टराई भोजपुरेलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

वार्षिक उत्सवलाई थप आकर्षक बनाउँदै विद्यार्थीहरूले उत्कृष्ट सांस्कृतिक नृत्य तथा जनचेतनामूलक सडक नाटक प्रस्तुत गरेका थिए, जसले उपस्थित दर्शकहरूको मन जित्न सफल भयो। कार्यक्रममा सुन्दरहरैचाका जनप्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रमुख, विभिन्न विद्यालयका प्रधानाध्यापक, सामाजिक व्यक्तित्व तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार