सुन्दरहरैँचा । शिव भट्टराई भोजपुरे। आश्विन १२ गते
मोरङको सुन्दरहरैँचा–१० खोर्साने स्थित हातेमालो बहुउद्देशीय सहकारी संस्थाको २५औँ स्थापना दिवस अर्थात् रजत जयन्तीको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज चेस प्रतियोगिता सम्पन्न भएको छ।

रजत जयन्तीका अवसरमा आयोजित चेस प्रतियोगितामा गंगा ढकाल प्रथम, लक्ष्मीकुमार श्रेष्ठ दोस्रो र अशोक राई तृतीय भएका छन्। प्रतियोगितामा दियोग ढकालले ब्लुमिङ प्लेयरको उपाधि प्राप्त गरेको अध्यक्ष हेमराज सुवेदीले जानकारी दिनु भयो।

सहकारी संस्थाले रजत जयन्तीको अवसरमा चेस प्रतियोगिता सहित विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ। रजत जयन्ती महोत्सव अन्तर्गत असोज १२ गते चेस प्रतियोगिता, असोज १३ गते अन्तरक्रिया तथा खेलकुद प्रतियोगिता, असोज १४ गते साधारणसभा तयारी, असोज १५ गते लोगो अनावरण तथा असोज १६ गते २४औँ वार्षिक साधारणसभा, रजत जयन्ती समारोह एवं पुस्तक विमोचन लगायतका कार्यक्रम सञ्चालन हुने व्यवस्थापक योजना शर्माले जानकारी गराउनु भएको छ।




