शिक्षाको दीर्घकालीन मार्गचित्र तय गर्न सुन्दरहरैँचा नगरपालिकामा सुझाव संकलन


Single Before Content Ad

सुन्दरहरैँचा (मोरङ) : भाद्र १३ गते

सुन्दरहरैँचा नगरपालिकाले आगामी दिनको शैक्षिक नीति तथा कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्यले नगर शिक्षा योजना निर्माणका लागि सरोकारवालासँग सुझाव संकलन गरेको छ।

नगरपालिकाको आयोजनामा सुन्दरहरैँचा–स्थित इन्द्रपुर जेसीस सामुदायिक भवनमा आयोजित कार्यक्रममा नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षा क्षेत्रका विज्ञ तथा अन्य सरोकारवालाको सहभागिता थियो।

नगर शिक्षा शाखाको संयोजकत्वमा तयार पारिएको प्रारम्भिक प्रस्ताव तथा योजनाका विषयवस्तुमाथि छलफल गर्दै सहभागीबाट नगरको वर्तमान शैक्षिक अवस्था, देखिएका चुनौती तथा सुधारका सम्भावित उपायबारे सुझाव लिइएको थियो।

कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका अध्यक्ष केदार प्रसाद गुरागाईं, शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख शालिग्राम दाहाल तथा पूर्वाञ्चल विश्वविद्यालय, गोठगाउँका प्रा.डा. सुजन बाबु मरहट्टाको सहभागिता थियो। कार्यक्रमको सञ्चालन नगर शिक्षा शाखा प्रमुख तेज आचार्यले गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख गुरागाईंले नगरको समग्र विकासको आधार शिक्षा भएकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर दीर्घकालीन योजना निर्माण गर्नुपर्ने बताए। नगर शिक्षा योजना औपचारिक दस्तावेजमा मात्र सीमित नभई विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकका वास्तविक आवश्यकता सम्बोधन गर्ने खालको हुनुपर्ने उनको भनाइ थियो।

उनले सरोकारवालाबाट प्राप्त सुझावलाई समेटेर व्यवहारिक, परिणाममुखी र कार्यान्वयनयोग्य शिक्षा योजना निर्माण गरिने बताए।

प्रमुख शालिग्राम दाहालले शिक्षा क्षेत्रको सुधारका लागि स्थानीय तह, विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। उनले शिक्षकको पेशागत क्षमता विकास, विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि, विद्यालयको शैक्षिक व्यवस्थापन तथा गुणस्तरीय शिक्षामा पहुँच विस्तारलाई योजनाको प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।

त्यस्तै, प्रा.डा. सुजन बाबु मरहट्टाले बदलिँदो समय र आवश्यकताअनुसार शिक्षा प्रणालीलाई प्रविधि, अनुसन्धान, सीप र रोजगारीसँग जोड्नुपर्ने बताए। नगर शिक्षा योजना निर्माण गर्दा स्थानीय आवश्यकता र उपलब्ध तथ्यांकका आधारमा दीर्घकालीन नीति तथा कार्यक्रम तय गर्नुपर्नेमा उनले जोड दिए।

छलफलमा सहभागी विद्यालयका प्रधानाध्यापकहरूले विद्यालयका विद्यमान समस्या, शिक्षक तथा विद्यार्थीका आवश्यकता, शैक्षिक गुणस्तर सुधार, प्रविधिमैत्री शिक्षा, भौतिक तथा डिजिटल पूर्वाधार, शिक्षक क्षमता विकास, विद्यार्थीको प्रतिभा पहिचान र अभिभावकको सहभागितालगायतका विषयमा सुझाव दिएका थिए।

उनीहरूले सामुदायिक र संस्थागत विद्यालयबीच सहकार्यको वातावरण निर्माण, गुणस्तरीय शिक्षामा समान पहुँच, सीपमूलक तथा व्यावहारिक शिक्षा, शिक्षक तालिम र विद्यार्थीको सिकाइ उपलब्धि सुधारलाई नगर शिक्षा योजनामा प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए।

नगर शिक्षा शाखा प्रमुख तेज आचार्यले प्रारम्भिक योजनाका विषयवस्तुमाथि सरोकारवालासँग छलफल गरी आवश्यक सुझाव संकलन गरिएको बताए। प्राप्त सुझावका आधारमा नगरको विद्यमान शैक्षिक अवस्थाको समीक्षा गर्दै स्पष्ट लक्ष्य, प्राथमिकता र कार्यक्रमसहितको नगर शिक्षा योजना तयार गरिने उनले जानकारी दिए।

नगरपालिकाले संकलित सुझावको अध्ययन तथा विश्लेषण गरी प्राथमिकता निर्धारण गरेर दीर्घकालीन र कार्यान्वयनयोग्य शिक्षा योजना तयार गर्ने जनाएको छ। प्रस्तावित योजनाले नगरको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यालय व्यवस्थापन सुधार, शिक्षकको क्षमता विकास, पूर्वाधार विस्तार तथा विद्यार्थीको सिकाइ उपलब्धि बढाउन आधार तयार गर्ने अपेक्षा गरिएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार