सुन्दरहरैँचा । शिव भट्टराई भोजपुरे।
मोरङको सुन्दरहरैँचा–१० स्थित हिमालय इङ्लिस स्कुलका प्रिन्सिपल तथा नेसनल प्याब्सन (एन–प्याब्सन) कोशी प्रदेशका अध्यक्ष कमल खनाल शैक्षिक नेतृत्वमा उत्कृष्ट योगदानका लागि नयाँ दिल्लीमा आयोजित विशेष कार्यक्रममा ‘गोल्डेन क्राउन–एक्सिलेन्स इन एजुकेशनल लिडरसिप २०२६’ बाट सम्मानित भएका छन्।

शिक्षाको गुणस्तर अभिवृद्धि, विद्यालय व्यवस्थापन, शैक्षिक नेतृत्व तथा निजी विद्यालय क्षेत्रको संस्थागत विकासमा पुर्याएको योगदानको कदरस्वरूप खनाललाई उक्त सम्मान प्रदान गरिएको हो। नयाँ दिल्लीमा प्राप्त यो अन्तर्राष्ट्रिय सम्मानले खनालको व्यक्तिगत उपलब्धिसँगै हिमालय इङ्लिस स्कुल, सुन्दरहरैँचा तथा समग्र मोरङको शैक्षिक क्षेत्रलाई समेत अन्तर्राष्ट्रियस्तरमा चिनाउने थप अवसर सिर्जना गरेको छ।
शैक्षिक क्षेत्रमा लामो समयदेखि सक्रिय खनालले विद्यालयको नेतृत्वसँगै एन–प्याब्सनको संस्थागत गतिविधि, शैक्षिक गुणस्तर सुधार, शिक्षक तथा विद्यार्थीको क्षमता विकास र निजी विद्यालयको हकहितका विषयमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। उनको नेतृत्वमा हिमालय इङ्लिस स्कुलले पनि शैक्षिक तथा अतिरिक्त क्रियाकलापका क्षेत्रमा निरन्तर पहिचान बनाउँदै आएको छ।
खनाल यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सम्मान र पुरस्कारबाट सम्मानित भइसकेका शैक्षिक व्यक्तित्व हुन्। शैक्षिक नेतृत्व, विद्यालय व्यवस्थापन र शिक्षा क्षेत्रमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै प्राप्त हुँदै आएका यस्ता सम्मानले उनको निरन्तर सक्रियता र योगदानलाई थप स्थापित गरेको देखिन्छ।
विशेषगरी स्थानीय तहमा रहेर शिक्षा क्षेत्रमा नेतृत्व गर्दै अन्तर्राष्ट्रिय मञ्चसम्म सम्मान प्राप्त गर्नु सुन्दरहरैँचाको शैक्षिक क्षेत्रका लागि समेत गौरवको विषय बनेको छ। पछिल्लो सम्मानपछि विद्यालय परिवार, शिक्षा क्षेत्रका व्यक्तित्व, अभिभावक तथा शुभेच्छुकहरूले खनाललाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।




