न्यायमा सहज पहुँच विस्तार गर्दै सुन्दरहरैँचा: उत्कृष्ट मेलमिलाप केन्द्रलाई पुरस्कार


shiva
Single Before Content Ad

शिव भट्टराई भोजपुरे/ असार २३ गते

स्थानीय नागरिकलाई सरल, सहज र कम खर्चमा न्याय उपलब्ध गराउने उद्देश्यलाई थप प्रभावकारी बनाउँदै सुन्दरहरैँचा नगरपालिकाले उत्कृष्ट कार्यसम्पादन गर्ने वडा मेलमिलाप केन्द्रलाई नगदसहित सम्मान गरेको छ। उद्योग वाणिज्य संघको सभाहल, विराटचोकमा आयोजित कार्यक्रममा उत्कृष्ट मेलमिलाप केन्द्रलाई पुरस्कार प्रदान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख केदारनाथ गुरागाईले संघीय संविधानले स्थानीय तहमा न्यायिक समितिको व्यवस्था गरेर नागरिकलाई आफ्नै समुदायमा सहज रूपमा न्याय प्राप्त गर्ने वातावरण सिर्जना गरेको बताउनुभयो। उहाँले साना–तिना विवाद स्थानीय स्तरमै समाधान हुन थालेपछि अदालतसम्म धाइरहनुपर्ने अवस्था क्रमशः घट्दै गएको उल्लेख गर्नुभयो।

न्यायिक समिति संयोजक तथा नगर उपप्रमुख अकली चौधरीले मेलमिलाप प्रक्रियामार्फत स्थानीय विवादलाई छिटो, सहज र प्रभावकारी रूपमा समाधान गर्दै आएको बताउनुभयो। उहाँले मेलमिलाप केन्द्रहरूलाई आवश्यक बजेट, तालिम र स्रोतसाधन उपलब्ध गराउँदै थप सुदृढ बनाइने तथा उत्कृष्ट कार्य गर्ने केन्द्रलाई सम्मान गर्ने कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जानकारी दिनुभयो।

कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गरेको वडा नं. ११ को मेलमिलाप केन्द्रलाई रु. २५ हजार नगदसहित सम्मान गरिएको थियो भने कुशल विवाद मेलमिलाप केन्द्रको रूपमा वडा नं. ८ लाई रु. १० हजार नगदसहित पुरस्कृत गरिएको थियो। साथै, नगरका मेलमिलापकर्ताहरूलाई ज्याकेट, झोला, क्यापलगायत आवश्यक सामग्री पनि वितरण गरिएको थियो।

उपप्रमुख चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा न्यायिक समिति सदस्य रोशन उप्रेती र कैलाश बस्नेतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन उजुरी प्रशासक निरज न्यौपानेले गर्नुभएको थियो भने स्वागत मन्तव्य कैलाश बस्नेतले राख्नुभएको थियो।

नेपालको संविधान २०७२ को धारा २१७ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ अनुसार स्थानीय तहमा न्यायिक समितिमार्फत स्थानीय प्रकृतिका विवाद समाधान गर्ने व्यवस्था रहेको छ। मेलमिलापकर्ता अधिवक्ता सानु कार्की बस्नेतका अनुसार सुन्दरहरैँचा नगरपालिकामा हाल १०४ जना मेलमिलापकर्ता सूचीकृत रहेका छन्। उनीहरूले नगरका १२ वटै वडामा सञ्चालनमा रहेका मेलमिलाप केन्द्रमार्फत पक्षहरूबीच सहमतिमा आधारित 'जित–जित'को वातावरण सिर्जना गर्दै विवाद समाधानको कार्यलाई प्रभावकारी रूपमा अघि बढाइरहेका छन्।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार