सुन्दरहरैँचा: शिव भट्टराई भोजपुरे। श्रावण २३ गते
मोरङको सुन्दरहरैँचा नगरपालिका–६, दुर्गा मन्दिर टोलबाट दुई महिनासम्म बेपत्ता रहेको मोटरसाइकल सुन्दरहरैँचा–५ स्थित आमा खाजा घरको कोठामा थुनिएको अवस्थामा फेला परेको छ।
दुर्गा मन्दिर टोल निवासी ४१ वर्षीय रामबहादुर लिम्बुको नाममा रहेको को १९ प ३०७५ नम्बरको निलो रङको १५० सीसी मोटरसाइकल सोही ठाउँ बस्ने अन्दाजी ३३ वर्षीय गणेश श्रेष्ठले केही समयका लागि भन्दै लिएर गएका थिए। तर, मोटरसाइकल दुई महिनासम्म फिर्ता नआएपछि लिम्बुले प्रहरी चौकी गछियामा खोजतलासका लागि निवेदन दिएका थिए।
प्रहरीले खोजतलास गर्ने क्रममा शनिबार सुन्दरहरैँचा–५ स्थित गोमादेवी खड्काले सञ्चालन गरेको आमा खाजा घरमा उक्त मोटरसाइकल रहेको जानकारी पाएको थियो।
प्राप्त जानकारी अनुसार श्रेष्ठले खाजा घरमा खाएको तथा अन्य खर्चबापतको पैसा नतिरेपछि खाजा घर सञ्चालिका खड्काले मोटरसाइकल आफ्नो कोठामा थुनेर राखेकी थिइन्। तर, मोटरसाइकल थुनेर राखिएको विषयमा उनले प्रहरीलाई जानकारी गराएकी थिइनन्।
मोटरसाइकल फेला परेको जानकारी प्राप्त भएपछि प्रहरी टोलीले खाजा घरमा पुगेर मोटरसाइकल धनी लिम्बुलाई जानकारी गराएको थियो। त्यसपछि आवश्यक प्रक्रिया पूरा गरी उक्त मोटरसाइकल धनि लिम्बुलाई नै जिम्मा लगाएर पठाइएको प्रहरीले सुन्दरहरैचा अपडेटलाई जनाएको छ।




