सुन्दरहरैंचा नगरपालिकामा साबुन, सरफ, हर्फिक, फिनेल बनाउने ५ दिने तालिम सम्पन्न


shiva
Single Before Content Ad
सुन्दरहरैंचा / चैत्र २२ गते

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं. २ कार्यालयको आर्थिक सहयोग तथा प्रगति महिला समाजको आयोजनामा साबुन, सरफ, हर्फिक, फिनेल बनाउने पाँच दिने तालिम बिहीबार सम्पन्न भएको छ।

तालिमको समापन समारोहमा नगरप्रमुख केदार प्रसाद गुरागाईंले उत्पादनमुखी सीप महिलाहरूको आर्थिक सशक्तीकरणका लागि अपरिहार्य रहेको बताए। उनले तालिममा सिकेका सीपलाई व्यवसायिक रूपमा प्रयोग गर्न आग्रह गर्दै महिलाहरूलाई सामूहिक रूपमा लघु उद्योग सञ्चालन गर्न सुझाव दिए। साथै, नगरपालिकाले ५० प्रतिशत अनुदान प्रदान गर्ने, दैनिक जीवनमा प्रयोग हुने यस्ता वस्तुहरू खरिद गर्ने र बजार व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

वडा अध्यक्ष बिबस प्रधानले महिलाहरूको आत्मनिर्भरता अभिवृद्धि गर्न यस्ता तालिमहरू आवश्यक रहेको बताउँदै वडा कार्यालयले आगामी दिनमा पनि व्यावसायिक तालिमहरू सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे।तालिममा सहभागी प्रशिक्षार्थी इन्दिरा ढकालले भनिन्, “यो तालिमले मलाई साबुन तथा सरफ जस्ता दैनिक उपभोग्य वस्तुहरू बनाउन सिकायो। अब म यो सीपलाई व्यवसायमा परिणत गर्न चाहन्छु।”

प्रगति महिला समाजकी अध्यक्ष पार्वती गच्छदारले महिलाहरूको आर्थिक तथा सामाजिक सशक्तीकरणका लागि संस्थाले निरन्तर यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताइन्। उनले सहभागी प्रशिक्षार्थीहरूलाई आआफ्नो सीपलाई व्यवहारमा उतार्न आग्रह गरिन्। साथै, यसअघि इटहरी, बर्जु, मिक्लाजुङ लगायतका स्थानहरूमा पनि यस्ता तालिम सञ्चालन गरिसकेको जानकारी गराइन्।

तालिम कार्यक्रमका प्रशिक्षक मनिता घिमिरेले सहभागीहरूलाई साबुन, सरफ, हर्फिक, फिनेल बनाउने प्राविधिक ज्ञान प्रदान गरेकी थिइन्।यस तालिममा स्थानीय महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजक संस्थाका अनुसार भविष्यमा थप उत्पादनमूलक तालिमहरू सञ्चालन गरिने योजना रहेको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार