हिंसामुक्त विद्यालय र मर्यादित वातावरण निर्माणमा जोड, सुन्दरहरैचाका शिक्षकलाई अभिमुखीकरण


Single Before Content Ad

सुन्दरहरैंचा ।शिव भट्टराई भोजपुरे। साउन १५ गते

मोरङको सुन्दरहरैंचा नगरपालिका–३ स्थित श्री जनता माध्यमिक विद्यालय, त्रीजुगामा शिक्षक, शिक्षिका तथा कर्मचारीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

विद्यालयको शैक्षिक तथा प्रशासनिक वातावरणलाई सुरक्षित, भयरहित र अनुशासित बनाउने उद्देश्यले आयोजित अभिमुखीकरण कार्यक्रममा चारवटा सामुदायिक विद्यालयका शिक्षक तथा शिक्षिकाहरूको सहभागिता रहेको थियो। शुक्रबार भएको कार्यक्रममा श्री जनता माध्यमिक विद्यालय, श्री श्रीखण्ड माध्यमिक विद्यालय, श्री जनता आधारभूत विद्यालय र श्री जननी आधारभूत विद्यालयका शिक्षक तथा शिक्षिकाहरूको सहभागीता रहेको थियो।

कार्यक्रमको सहजीकरण श्री जनता माध्यमिक विद्यालयका प्रधानध्यापक देवराज भट्टराईले गर्नु भएको थियो। कार्यक्रममा शिक्षक तथा कर्मचारीको पेशागत आचारसंहिता, विद्यार्थी तथा अभिभावकसँग सम्मानजनक र सकारात्मक व्यवहार, अनुशासन कायम गर्ने सकारात्मक उपाय, समयपालना, जिम्मेवारी तथा जवाफदेहिता, आदर्श व्यक्तित्वको भूमिका, सबै प्रकारका हिंसाविरुद्ध सचेतना, विद्यालयको मर्यादा तथा गोपनीयतालगायतका विषयमा छलफल तथा अभिमुखीकरण गरिएको थियो।

कार्यक्रममा श्री श्रीखण्ड माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष डिल्लीबहादुर खड्काको प्रमुख आतिथ्यता रहेको थियो भने श्री जनता माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामकाजी श्रेष्ठको अध्यक्षता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि श्री श्रीखण्ड माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष डिल्लीबहादुर खड्काले विद्यालयलाई सुरक्षित, अनुशासित र मर्यादित शैक्षिक वातावरणका रूपमा विकास गर्न शिक्षक तथा कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। उहाँले विद्यार्थीको सर्वाङ्गीण विकाससँगै उनीहरूको मनोभावना र सुरक्षालाई समेत ध्यान दिँदै शिक्षक तथा कर्मचारीले आफ्नो आचारसंहिता र जिम्मेवारीप्रति सदैव सचेत रहनुपर्नेमा जोड दिनुभयो। विद्यालयमा कुनै पनि किसिमका हिंसा, दुर्व्यवहार तथा नकारात्मक गतिविधि हुन नदिन सबै पक्षबीच सहकार्य र सकारात्मक व्यवहार आवश्यक रहेको उहाँको भनाइ थियो।

यस कार्यक्रमले विद्यालयमा सकारात्मक, सुरक्षित र अनुशासित वातावरण निर्माण गर्न शिक्षक तथा कर्मचारीको भूमिका थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार