सुन्दरहरैंचा/ असार ३ गते ।
मोरङको ग्रामथान गाउँपालिका–४ की भागबती थारु पत्रकार सम्मेलनमा आफ्ना दुःखका कथा सुनाउँदै धरधरी रोइन्। जीवनभरको मेहनत र पसिनाबाट जोडेको जग्गा आफूहरूलाई पैसा नै नदिई झुक्याएर खोसिएको दाबी गर्दै उनले न्यायका लागि सम्बन्धित निकायसँग गुहार मागिन्।
उनका पति सम्पन्न कुमार माझीसँगै आयोजित पत्रकार सम्मेलनमा भागबतीले स्थानीय मेगनाथ माझी र तारिक चन्द माझीले छलकपट र डरत्रास देखाएर कागजातमा हस्ताक्षर गराई अन्ततः दुई कट्ठा १६ धुर जग्गा आफ्नो नाममा बनाएको आरोप लगाइन्।
पीडित दम्पतीका अनुसार २०७३ साल फागुन १९ गते पाँच लाख रुपैयाँ र फागुन २६ गते सात लाख रुपैयाँ गरी कुल १२ लाख रुपैयाँ ऋण लिएको उल्लेख भएको कपाली तमसुक तयार गरियो। तर उक्त रकम आफूहरूले कहिल्यै नपाएको उनीहरूको दाबी छ।
“हामीलाई एक रुपैयाँ पनि दिइएको थिएन,” भागबतीले आँसु झार्दै भनिन्, “म र मेरो छोरालाई विभिन्न बहानामा बोलाएर कागजमा हस्ताक्षर गराइयो। पछि थाहा भयो, त्यो त हाम्रो जग्गा खोस्ने योजना रहेछ। पैसा नदिई ऋणी बनाइयो र अन्ततः हाम्रो सम्पत्ति गुम्यो।”
उक्त तमसुकलाई आधार बनाएर मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएको र अदालतले २०७५ चैत १३ गते वादी पक्षकै पक्षमा फैसला सुनाएपछि विवादित जग्गा कानुनी रूपमा उनीहरूको नाममा गएको पीडित पक्षको भनाइ छ।
सम्पन्न कुमार माझीले आफूहरू अशिक्षित र आर्थिक रूपमा कमजोर भएकै कारण अन्यायमा परेको गुनासो गरे। “हामीले वास्तविकता राख्ने अवसर पाएनौं। जबरजस्ती गराइएको हस्ताक्षरलाई प्रमाण मानेर फैसला भयो। हाम्रो अवस्था र पीडा कसैले बुझेन,” उनले बताए।
पीडित परिवारले जग्गा पास भइसकेपछि पनि आफूहरूमाथि धम्की र दबाब जारी रहेको आरोप लगाएको छ। प्रतिवादी पक्षले खुकुरी बोकेर जग्गा खाली गर्न आउने, घर छाड्न दबाब दिने तथा ज्यान मार्ने धम्कीसमेत दिने गरेको उनीहरूको दाबी छ।
“आफ्नै घरमा बस्न डर लाग्ने अवस्था छ,” भागबतीले रुँदै भनिन्, “हामी न्याय खोजिरहेका छौं। हाम्रो जग्गा फिर्ता होस्, हाम्रो ज्यान सुरक्षित रहोस्, यही मात्र चाहना हो।”
लामो कानुनी प्रक्रिया अगाडि बढाउन आर्थिक अवस्था कमजोर रहेको बताउँदै पीडित परिवारले सञ्चारमाध्यम, मानव अधिकारकर्मी, नागरिक समाज तथा सम्बन्धित निकायको सहयोग मागेको छ।
पत्रकार सम्मेलनमार्फत उनीहरूले राष्ट्रिय मानव अधिकार आयोग, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, कानुन व्यवसायी तथा सरोकारवाला सबै पक्षलाई घटनाको निष्पक्ष छानबिन गरी न्याय दिलाउन आग्रह गरेका छन्।
भागबती थारुको आँसु, पीडा र न्यायको पुकारले पत्रकार सम्मेलनमा उपस्थित धेरैलाई भावुक बनाएको थियो। उनका शब्दहरूमा एउटै आग्रह थियो— “हामी गरिब भयौं भन्दैमा हाम्रो सम्पत्ति खोसिनु हुँदैन। सत्यको जित होस्, हाम्रो परिवार सडकमा पुग्न नपरोस्।”




