गछिया युवा समाजको लापसे–मापसे सचेतना अभियान सम्पन्न, परीक्षणमा २ चालक नियन्त्रणमा लिई कारबाही


shiva
Single Before Content Ad

सुन्दरहरैँचा, मोरङ ।
“स्वस्थ समाज, सुरक्षित यात्रा, लागूपदार्थमुक्त चालक” भन्ने मूल नारासहित गछिया युवा समाज, सुन्दरहरैँचा–३ ले चालकहरूलाई लक्षित गरी लापसे (लागूपदार्थ सेवन) तथा मापसे (मादक पदार्थ सेवन) चेकजाँच तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ।

पूर्व–पश्चिम राजमार्ग हुँदै आवतजावत गर्ने सवारी साधनका चालकहरूलाई केन्द्रित गरी सञ्चालन गरिएको उक्त कार्यक्रममा १०० भन्दा बढी चालकहरूको लापसे तथा मापसे परीक्षण गरिएको आयोजकले जनाएको छ। परीक्षणका क्रममा नियम विपरीत लागूपदार्थ तथा मदिरा सेवन गरेको पाइएका २ जना चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको प्रहरीले जनाएको छ।कार्यक्रम “सुरक्षित यात्रा, हाम्रो प्रतिबद्धता” भन्ने सन्देशसहित सञ्चालन गरिएको थियो। यसको मुख्य उद्देश्य सडक दुर्घटना न्यूनीकरण, चालकहरूमा जिम्मेवारीबोध अभिवृद्धि तथा लागू पदार्थ र मदिरा सेवनविरुद्ध जनचेतना फैलाउनु रहेको बताइएको छ।

कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, कोशी प्रदेश इटहरी, इलाका प्रहरी कार्यालय बेलबारी, प्रहरी चौकी गछिया तथा ट्राफिक प्रहरी पोस्ट गछियाले प्राविधिक सहयोग प्रदान गरेका थिए। सुरक्षा निकायको सहकार्यमा गरिएको परीक्षण तथा परामर्श कार्यक्रमले चालकहरूलाई सुरक्षित सवारी सञ्चालनका लागि प्रेरित गरेको आयोजकको भनाइ छ।

कार्यक्रमका प्रमुख अतिथि देवराज तामाङले सडक सुरक्षाको आधार नै चालकको सचेतना भएको उल्लेख गर्दै मादक पदार्थ वा लागू पदार्थ सेवन गरी सवारी चलाउनु आफैं र अरूको जीवनमाथिको गम्भीर जोखिम भएको बताए। उनले यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए।
गछिया युवा समाजका अध्यक्ष सरोज दाहालले बढ्दो सडक दुर्घटना र लागू पदार्थ दुर्व्यसन नियन्त्रणका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिँदै आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

आश्रय सुधार केन्द्रका कार्यक्रम संयोजक सेवक खत्रीले लागू पदार्थ दुर्व्यसनलाई नियन्त्रण गर्न समुदाय, परिवार र सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको बताए। त्यसैगरी कोशी प्रदेश प्रहरी अस्पताल, इनरुवाका प्रहरी नायब उपरीक्षक (डीएसपी) डा. अनुज श्रेष्ठले लागू पदार्थ तथा मदिरा सेवनले चालकको निर्णय क्षमता कमजोर बनाउने भएकाले सडक दुर्घटनाको जोखिम बढ्ने उल्लेख गरे।

गछिया युवा समाजका अनुसार सुरक्षित समाज निर्माण, सुरक्षित यात्रा प्रवर्द्धन तथा लागूपदार्थमुक्त चालक तयार गर्ने उद्देश्यसहित यस्ता अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ। स्थानीयवासी, सामाजिक अभियन्ता, सुरक्षा निकाय तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रमलाई समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने उदाहरणीय पहलका रूपमा हेरिएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार