जन्मजात सुन्न र बोल्न नसक्ने दुइ बालकको नोबेलमा कोक्लियर इम्प्लान्ट शल्यक्रिया सम्पन्न


Single Before Content Ad

बिराटनगर‑४, कञ्चनबारीस्थित नोबेल शिक्षण अस्पतालले पुर्वी नेपालमै पहिलो पटक सुन्न र बोल्न नसक्ने समस्या भएका दुई बालकको कोक्लियर इम्प्लान्ट शल्यक्रिया सफलतापुर्वक सम्पन्न गरेको छ । नाक, कान, घाँटी रोग बिषेशज्ञ डा. शंकर प्रसाद शाहको नेतृत्वमा यो अत्याधुनिक शल्यक्रिया भएको हो । श्रवण शक्ति धेरै कम भएकाहरूमा गरिने यस्तो शल्यक्रियाले ती बालबालिकाको जीवनमा ठूलो सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

नोबेल शिक्षण अस्पतालका नाक, कान, घाँटी विभागका डा. शंकर शाहका अनुसार दुवै बालकमा जन्मजात श्रवण शक्ति थिएन । चेक जाँच र उपचार सम्बन्धी परामर्श पछि दुवै बालकका परिवारहरू उपचार गराउन तयार भए । त्यस पछि शल्यक्रिया पनि सफलतापूर्वक सम्पन्न भयो। उनले भने "यो जटिल शल्यक्रिया भए पनि हाम्रो टिमको अथक प्रयास र प्रविधिको सही प्रयोगले हामी सफल भयौँ, अब यी बालबालिकाले सामान्य जीवन जिउन सक्नेछन् भन्नेमा हामी विश्वस्त छौँ।"

यो शल्यक्रियापछि बालबालिकाको भाषा विकासका लागि थेरापी र विशेष तालिमको आवश्यकता पर्छ, जुन अस्पतालले उपलब्ध गराउने तयारी गरेको छ। यस प्रकारका सफल शल्यक्रियाले स्वास्थ्य क्षेत्रमा नोबेल शिक्षण अस्पतालको योगदानलाई थप उचाइमा पुर्‍याएको छ र यस क्षेत्रका बिरामीहरूका लागि नयाँ आशा जगाएको छ। अस्पतालले कोक्लियर इम्प्लान्टजस्ता जटिल शल्यक्रियाका लागि आवश्यक अत्याधुनिक प्रविधि र विशेषज्ञ चिकित्सकको व्यवस्था गरेको जनाएको छ। यसले प्रदेश र आसपासका क्षेत्रका बिरामीहरूलाई उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हट्ने अस्पताल प्रशासनले जनाएको छ ।

जन्मजात वा अन्य कारणले कान सुन्न र बोल्न नसक्ने समस्या भएका बालबालिकाका लागि कोक्लियर इम्प्लान्ट एक वरदान साबित भएको छ । यो शल्यक्रियामार्फत कानको भित्री भागमा एउटा सानो इलेक्ट्रोनिक उपकरण राखिन्छ, जसले आवाजलाई मस्तिष्कसम्म पुर्‍याउन मद्दत गर्छ भने कान बाहिर एउटा साउण्ड प्रोसेसर डिभाइस राखिन्छ । यसपछि बिस्तारै सुन्ने क्षमताको विकास हुँदै जान्छ र बालबालिकाले बोल्न सिक्छन् । गम्भीरदेखि अति गम्भीर श्रवण गुमाएका, परम्परागत कान सुन्ने उपकरणले सुनाइमा सहयोग नगरेका, दुर्घटना, औषधिको असर वा अन्य कारणले सुनाइ गुमाएका वयस्कहरूमा पनि यो प्रविधीले श्रवण शक्ति प्रदान गर्दछ ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार