सुन्दरहरैंचामा ५ दिने किशोरी सशक्तिकरण तालिम सम्पन्न


shiva
Single Before Content Ad

मोरङ, सुन्दरहरैंचा – शिव भट्टराई /जेष्ठ २९ गते

मोरङको सुन्दरहरैंचा नगरपालिका–८ स्थित सलकपुरमा किशोरी सशक्तिकरणसम्बन्धी ५ दिने तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। सुन्दरहरैंचा नगरपालिकाको आर्थिक सहयोग तथा नारी विकास संघ सुन्दरहरैंचा–८ सलकपुरको आयोजनामा भएको कार्यक्रम बिहीबार सम्पन्न भएको हो।

समापन कार्यक्रममा नारी विकास संघकी अध्यक्ष शुसिला कार्कीको अध्यक्षता तथा नगरउपप्रमुख अकली चौधरीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा नगरभित्रका विभिन्न विद्यालयमा अध्ययनरत किशोरीहरूलाई यौन हिंसा, बाल विवाह, महिनावारी व्यवस्थापन लगायतका विषयमा सचेतना प्रदान गरिएको थियो।

प्रशिक्षक पेशल खतिवडाले सहभागी किशोरीहरूलाई व्यवहारिक तथा सैद्धान्तिक जानकारी दिएका थिए। उनले किशोरीहरूको आत्मविश्वास अभिवृद्धि, निर्णय क्षमताको विकास तथा लैङ्गिक समानताबारे समेत प्रशिक्षण दिएका थिए।

कार्यक्रमका विशिष्ट अतिथि तथा सुन्दरहरैंचा नगरपालिकाका सामाजिक शाखा प्रमुख गुणनिधि दाहालले यस्तो खालको कार्यक्रम निकै महत्वपूर्ण रहेको बताउँदै सहभागिता जनाउने विद्यालयहरू भाग्यमानी रहेको बताए।

त्यसैगरी, कार्यक्रममा बोल्दै युवा व्यवसायी तथा सामाजिक अभियन्ता नेत्र प्रसाद चौलागाईंले नारी विकास संघले यस्तो कार्यक्रम आयोजना गरेर किशोरीहरूको आत्मबल र सामाजिक चेतनामा उल्लेख्य योगदान गरेको बताए। उनले भने, “यो तालिमले किशोरीहरूलाई आफ्नो हक–अधिकार बुझ्न र सुरक्षित जीवनयापनका लागि सशक्त बन्न प्रेरणा दिएको छ। तालिममा सिकेका कुराहरू अरु साथीहरूलाई पनि सिकाउन अनुरोध गर्छु।”

कार्यक्रममा सहभागि विद्यार्थीहरूले आफूले धेरै नयाँ कुरा सिकेको अनुभव सुनाउँदै यस्ता कार्यक्रमले किशोरीहरूको आत्मविश्वास बढ्ने बताए।कार्यक्रमको समापनमा आयोजक संस्थाले आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर रुपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार