शिव भट्टराई भोजपुरे/
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले कक्षा १० का विद्यार्थीहरूलाई शैक्षिक अवलोकन भ्रमण गराएको छ। विद्यालयले आयोजना गरेको उक्त भ्रमणमा विद्यार्थीहरूले ईलाम जिल्लामा रहेको सुर्योदय नगरपालिका स्थित करफोक विद्या मन्दिर , श्री अन्तु, कन्याम तथा पाथीभरा माताको दर्शन गर्दै भौगोलिक, प्राकृतिक तथा सामाजिक अध्ययन गरेका छन्।

विद्यार्थीहरूले सुर्योदय नगरपालिका–१२ मा रहेको श्री करफोक बिद्या मन्दिर अन्तर्गत रहेको खेल मैदान, कृषि अनुसन्धान केन्द्र, नमुना टनेल खेती, नमुना गाईगोठ, माटो परीक्षण केन्द्र, सरस्वती मन्दिर, माछापोखरी, आवास गृह, सुस्त श्रवण आवास, सङ्ग्रहालय, चिस्यान केन्द्र, पानी ट्याङ्की र पार्किङ लगायत संरचनाहरूको अवलोकन गरेका छन्।

भ्रमणका क्रममा विद्यालयका सूचना अधिकारी तथा सह–प्रधानाध्यापक राजु कट्टेलले करफोक क्षेत्रका विशेषता, शैक्षिक उपलब्धि तथा व्यावहारिक गतिविधिबारे विद्यार्थीलाई विस्तृत जानकारी गराएका थिए।
भ्रमणमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष सोभितमान पौडेल, प्रधानाध्यापक देवराज भट्टराई, शिक्षक तथा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। विद्यार्थीहरूको पाठ्यक्रम अन्तर्गत व्यवहारिक सिकाइ सुदृढ बनाउन यो शैक्षिक भ्रमण आयोजना गरिएको प्रधानाध्यापक भट्टराईले बताएका छन्।
बिद्यालयका विद्यार्थीहरुले यस शैक्षिक भ्रमणले आफुलाई कक्षाभित्र पढेको ज्ञान लाई प्रत्यक्ष रूपमा बुझ्न धेरै मद्दत गरेको बताउदै करफोक क्षेत्रका कृषि, पर्यटन र सामाजिक संरचनाबारे नजिकबाट हेर्ने अवसर दिएकोमा बिद्यालयलाई धन्यवाद दिएका थिए। त्यस्तै कन्याम र श्री अन्तुको प्राकृतिक वातावरणले भूगोल र विज्ञानसँग सम्बन्धित विषयको थप ज्ञान मिलेकोले यस्तो अवसर प्रत्येक विद्यार्थीका लागि निकै उपयोगी रहेको उनिहरुले बताएका छन्।
त्यसैगरी विद्यालय व्यवस्थापन समिति अध्यक्ष पौडेलले
यस भ्रमणबाट विद्यार्थीहरुले संरचना र अनुसन्धान केन्द्र नजिकैबाट अवलोकन गर्ने मौका पाउनुको साथै यो भ्रमणले सिकाइ मात्र होइन, आत्मविश्वास र समूहमा काम गर्ने क्षमता समेत बढाउने आशा रहेको सुन्दरहरैचा अपडेटलाई जानकारी दिएका छन्।


