सुन्दरहरैचा/ पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघको केन्द्रीय समितिको निर्वाचन पुष १७ गते शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । निर्वाचनमार्फत संघको नयाँ नेतृत्व चयन भएसँगै केन्द्रीय निर्वाचन समिति–२०८२ द्वारा नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमाण–पत्र वितरण तथा शपथ ग्रहण कार्यक्रमसमेत सम्पन्न गरिएको छ ।

निर्वाचन परिणाम अनुसार सभापति पदमा नरेश कुमार साह ४५ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी नविन लामिछानेले ४४ मत, भुपेन्द्र बाराकोटीले २९ मत र डा. नीरज कुमार मिश्राले १५ मत प्राप्त गरेका छन् । उपसभापति पदमा दृष्टि वस्ती ५३ मतसहित निर्वाचित भएका छन् भने जीवन थापाले ४६ मत र शंकर प्रसाद दाहालले ३४ मत प्राप्त गरेका छन् ।

महासचिव पदमा डा. प्रसन्न दाहाल ८६ मतसहित भारी मतान्तरले विजयी भएका छन् । उनका प्रतिस्पर्धी दुर्गा प्रसाद बास्तोलाले ४७ मत प्राप्त गरेका छन् । सचिव पदमा पुकार चौधरी ७३ मतसहित निर्वाचित भएका छन् भने दिक्षा पौडेलले ६० मत प्राप्त गरेकी छन् । यस्तै कोषाध्यक्ष पदमा प्रमिला सिन्हा ७९ मतसहित विजयी भएकी छन् भने अविनाश कुमार मण्डलले ५३ मत प्राप्त गरेका छन् ।
निर्वाचनपछि गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा आयोजित एक विशेष कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूको शपथ ग्रहण तथा प्रमाण–पत्र वितरण गरिएको थियो । कार्यक्रममा विश्वविद्यालयका उपकुलपति बिजुकुमार थपलिया तथा रजिस्ट्रार कल्याणी मिश्र त्रिपाठीको विशेष उपस्थिति रहेको थियो । सो अवसरमा निर्वाचन प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्दै संघलाई अझ सुदृढ, प्रभावकारी र उत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू निर्विरोध रूपमा चयन भएको जानकारी संघका संयोजक मनोज कुमार हलुवाईले दिएका छन् । नव–निर्वाचित केन्द्रीय समितिले विश्वविद्यालयका प्राध्यापकहरूको पेशागत हक–हित संरक्षण, शैक्षिक गुणस्तर सुधार तथा संस्थागत विकासमा सक्रिय भूमिका खेल्ने विश्वास लिइएको छ ।

