सुन्दरहरैचा/ असार २१ गते
निरन्तर मूल्याङ्कन प्रणालीलाई विद्यालयहरूमा प्रभावकारी ढंगले लागू गर्ने उद्देश्यले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन), सुनसरी जिल्ला कार्यसमितिले आइतबार एकदिवसीय तालिम सञ्चालन गरेको छ। इनरुवा नगरपालिका–३, सखुवागाछीस्थित ओम साईराम पार्टी प्यालेसमा भएको सो तालिममा जिल्लाका ३० निजी विद्यालयका कक्षा १ देखि ५ सम्मका १०० भन्दा बढी शिक्षक-शिक्षिका सहभागी भएका थिए।

परीक्षा-केन्द्रित पद्धतिको सट्टा सिकाइलाई नै केन्द्रमा राख्ने सोचसहित आयोजित यस कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित सुनसरी शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख देवेन्द्रबहादुर मल्लले शिक्षकहरूको निरन्तर सिकाइ र क्षमता अभिवृद्धि गुणस्तरीय शिक्षाको पूर्वसर्त भएको बताए। विद्यार्थीको यथार्थ सिकाइ स्तर, व्यवहार र सीप जाँच्ने 'कन्टिन्युअस एसेसमेन्ट सिस्टम' अहिलेको शिक्षा पद्धतिको अपरिहार्य अंग बनिसकेको उनको भनाइ थियो।

विशिष्ट अतिथिका रूपमा सहभागी नेशनल प्याब्सन कोशी प्रदेश अध्यक्ष कमल खनालले परिवर्तित शैक्षिक सन्दर्भमा शिक्षकहरू आफूलाई निरन्तर अद्यावधिक राख्नुपर्ने आवश्यकतामा जोड दिए। यस्तो मूल्याङ्कन प्रणालीले विद्यार्थीको यथार्थ सिकाइ अवस्था पत्ता लगाई शिक्षण पद्धतिलाई थप व्यवहारिक र नतिजामुखी बनाउने उनको भनाइ थियो।किड्स पब्लिकेसनको सहकार्यमा सम्पन्न यस तालिमले सुनसरीका निजी विद्यालयहरूको शैक्षिक गुणस्तर र शिक्षकको व्यावसायिक क्षमता अभिवृद्धिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रम अध्यक्षसमेत रहेका नेशनल प्याब्सन सुनसरी संयोजक खगेन्द्र केसीका अनुसार शिक्षकको व्यावसायिक दक्षता नै गुणस्तरीय शिक्षाको जग हो। जिल्लाका निजी विद्यालयहरूमा आधुनिक र विद्यार्थीमैत्री शिक्षण पद्धति संस्थागत गर्ने लक्ष्यसहित यो तालिम आयोजना गरिएको उनले जनाए, साथै भविष्यमा पनि यस्ता कार्यक्रम निरन्तर चलाइने प्रतिबद्धता व्यक्त गरे।
तालिममा प्रशिक्षक प्रदीप बिष्टले ‘कन्टिन्युअस एसेसमेन्ट सिस्टम (CAS) प्रणाली, सिकाइ उपलब्धि मूल्याङ्कनका तरिका, बालमैत्री शिक्षण शैली र कक्षाकोठामा लागू गर्न सकिने नवीन अभ्यासहरूबारे व्यावहारिक तालिम दिए। सहभागी शिक्षकहरूले यसबाट CAS कार्यान्वयन सम्बन्धी नयाँ ज्ञान र अनुभव प्राप्त भएको बताउँदै कक्षाकोठाको सिकाइ प्रक्रिया थप प्रभावकारी बनाउन यसले सघाउ पुर्याउने विश्वास व्यक्त गरेका छन्।




