ब्राइट फ्युचरमा संस्कार र सफलताको संगम: नवआगन्तुकलाई स्वागतदेखि उत्कृष्ट विद्यार्थीलाई सम्मानसम्म


Single Before Content Ad

सुन्दरहरैँचा (मोरङ), असार २१ ।शिव भट्टराई भोजपुरे

मोरङको सुन्दरहरैँचा नगरपालिका–८ स्थित ब्राइट फ्युचर सेकेण्डरी स्कुलमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीहरूको स्वागत, एसईई उत्तीर्ण विद्यार्थीहरूको बिदाइ तथा उत्कृष्ट जीपीए हासिल गरेका विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान गर्ने विशेष कार्यक्रम सम्पन्न भएको छ।

 विद्यालयले आयोजना गरेको कार्यक्रममा कक्षा ११ मा अध्ययनका लागि आएका नयाँ विद्यार्थीलाई औपचारिक रूपमा स्वागत गरिएको थियो भने एसईई उत्तीर्ण गरी उच्च शिक्षाको नयाँ यात्रामा अघि बढेका विद्यार्थीहरूलाई भावपूर्ण बिदाइ गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको थियो। साथै, एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले प्रस्तुत गरेका गीत, नृत्य तथा विविध सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक र उल्लासमय बनाएको थियो। अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमको गरिमा अझ बढाएको थियो।

विद्यालयका प्रिन्सिपल टिकाराम ढकालले ब्राइट फ्युचर सेकेण्डरी स्कुलको लक्ष्य विद्यार्थीलाई केवल शैक्षिक प्रमाणपत्र दिलाउने नभई राष्ट्रलाई आवश्यक दक्ष, सक्षम, जिम्मेवार र नैतिक जनशक्ति उत्पादन गर्नु रहेको बताए।

उनले भने,"गुणस्तरीय, प्रविधिमैत्री र संस्कारयुक्त शिक्षामार्फत विद्यार्थीलाई व्यवहारिक ज्ञान, सीप र नेतृत्व क्षमता प्रदान गर्दै राष्ट्र निर्माणमा योगदान पुर्‍याउन सक्ने दक्ष जनशक्ति उत्पादन गर्नु हाम्रो प्रमुख उद्देश्य हो। यही लक्ष्यका साथ विद्यालय निरन्तर अघि बढिरहेको छ।"

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदार प्रसाद गुरागाईंको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै उनले "आजको आवश्यकता पुस्तकमा सीमित शिक्षा मात्र होइन, व्यवहारिक ज्ञान, सीप र नैतिक मूल्यसहितको शिक्षा रहेको बताउदै यस्ता विद्यालयले समाज र राष्ट्रका लागि सक्षम तथा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न महत्वपूर्ण भूमिका खेलिरहेको बताएका छन्।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सहभागी व्यवसायी भोलेश्वर दुलालले विद्यार्थी नै देशको भविष्य भएकाले उनीहरूको शिक्षा र व्यक्तित्व विकासमा सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताए। उनले भने, "विद्यार्थीले पढाइसँगै अनुशासन, सकारात्मक सोच र सीप विकासमा ध्यान दिनुपर्छ। आजको मेहनत र लगनशीलताले नै भोलिको सफलता सुनिश्चित गर्छ। शिक्षा क्षेत्रमा निजी विद्यालयले पुर्‍याएको योगदान पनि महत्वपूर्ण छ।"

विद्यालयले विद्यार्थीको प्रतिभा, मेहनत र उपलब्धिलाई प्रोत्साहन गर्ने यस्ता कार्यक्रमले सिकाइप्रति थप उत्साह जगाउने विश्वास व्यक्त गरेको छ। साथै, नवप्रवेशी विद्यार्थीलाई आत्मविश्वासका साथ अध्ययनमा लाग्न र बिदाइ भएका विद्यार्थीलाई उच्च शिक्षाको यात्रामा सफलताको शुभकामना दिएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार