सुन्दरहरैचा, भाद्र १३ गते
काठमाडौं मेडिकल कलेजले बाढीपीडित ४१ वर्षीया विष्णुकुमारी डंगोलको निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने भएको छ ।बाढीका कारण मिर्गौला प्रत्यारोपणका लागि आवश्यक आर्थिक स्रोत गुमेपछि उपचारमा कठिनाइ भइरहेको अवस्थामा बिरामीको अवस्थालाई मध्यनजर गर्दै अस्पतालले मानवीय सहयोगस्वरूप निःशुल्क प्रत्यारोपण गर्ने निर्णय गरेको हो ।

अस्पतालका अनुसार डंगोलको मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएदेखि सफलतापूर्वक प्रत्यारोपण सम्पन्न गरी डिस्चार्ज हुँदासम्म लाग्ने सम्पूर्ण अस्पतालसम्बन्धी खर्च काठमाडौं मेडिकल कलेजले व्यहोर्नेछ ।

बाढीपीडित नागरिक विपद्का कारण आर्थिक तथा स्वास्थ्य संकटमा परेको अवस्थामा उपचारमा सहयोग पुर्याउनु सामाजिक तथा मानवीय दायित्व भएकाले निःशुल्क उपचारको निर्णय गरिएको अस्पतालले जनाएको छ ।काठमाडौं मेडिकल कलेजले विपद्को कठिन घडीमा बाढीपीडित नागरिकको स्वास्थ्य उपचारमा साथ दिने प्रतिबद्धता जनाएको छ ।




