शिव भट्टराई भोजपुरे / सुन्दरहरैँचा, साउन २ गते
मोरङको सुन्दरहरैँचा नगरपालिकाले ‘नागरिकसँग जनप्रतिनिधि’ कार्यक्रमअन्तर्गत विशेष सरसफाइ अभियान सञ्चालन गरेको छ।नगरलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको अभियानमा जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, विभिन्न सामाजिक संघसंस्था तथा स्थानीय नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो।
सरसफाइ अभियान खोर्साने चोकदेखि बाघझोडासम्म सञ्चालन गरिएको थियो। सहभागीहरूले सडक, सार्वजनिक स्थल तथा वरपरका क्षेत्रमा रहेको फोहोर संकलन गर्दै वातावरण संरक्षण र सरसफाइप्रति जनचेतना अभिवृद्धि गर्ने सन्देश दिएका थिए।

सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदार प्रसाद गुरागाईंले सरसफाइ अभियानलाई नगरका अन्य वडाहरूमा पनि निरन्तर सञ्चालन गरिने जानकारी दिए। उनले नगरको स्वच्छता कायम राख्न नगरपालिकाको प्रयाससँगै स्थानीय नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै सबैलाई आफ्नो टोल तथा समुदाय सफा राख्न आग्रह गरे।

नगरपालिकाले ‘नागरिकसँग जनप्रतिनिधि’ कार्यक्रमलाई जनप्रतिनिधि र नागरिकबीचको सम्बन्ध अझ सुदृढ बनाउने तथा सामुदायिक सहभागितामार्फत नगर विकासका गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यका साथ सञ्चालन गर्दै आएको जनाएको छ।

सरसफाई कार्यक्रममा सहभागी हुँदै नगर उपप्रमुख अकली चौधरीले सरसफाइ केवल नगरपालिकाको दायित्व मात्र नभई प्रत्येक नागरिकको साझा जिम्मेवारी भएको बताइन्। यस्ता अभियानले नागरिकमा सरसफाइप्रति सचेतना अभिवृद्धि गर्नुका साथै समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गर्दै उनले नगरका सबै वडामा यस कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिइन्। साथै, स्वच्छ, सुन्दर र स्वस्थ सुन्दरहरैँचा निर्माणका लागि सबै नगरवासीलाई अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गरिन्।




