सुन्दरहरैँचा, मोरङ ।आश्विन १० गते
मोरङको सुन्दरहरैचा स्थित पूर्वाञ्चल विश्वविद्यालयले दुई महत्वपूर्ण संकायमा नयाँ डीन नियुक्त गरेको छ।विश्वविद्यालयले विज्ञान तथा प्रविधि संकायमा प्राध्यापक अजय कुमार साहा र कला, कानून तथा शिक्षाशास्त्र संकायमा प्राध्यापक डा. कृष्णप्रसाद पाण्डेलाई डीनको जिम्मेवारी दिएको हो।
विज्ञान तथा प्रविधि संकायको डीनमा नियुक्त प्राध्यापक साहा यसअघि पूर्वाञ्चल विश्वविद्यालयको स्कुल अफ साइन्स एन्ड टेक्नोलोजीमा प्राध्यापकका रूपमा कार्यरत हुनुहुन्थ्यो। विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएका साहाले यसअघि सहपरीक्षा नियन्त्रक तथा निमित्त परीक्षा नियन्त्रकलगायत विभिन्न जिम्मेवारीसमेत सम्हालिसक्नुभएको छ।
त्यसैगरी, कला, कानून तथा शिक्षाशास्त्र संकायको डीनमा नियुक्त प्राध्यापक डा. कृष्णप्रसाद पाण्डे यसअघि पनि सोही संकायको डीनका रूपमा कार्यरत रहिसक्नुभएको थियो। लामो समयदेखि प्राध्यापन, अनुसन्धान तथा प्राज्ञिक गतिविधिमा सक्रिय पाण्डेसँग शैक्षिक नेतृत्वसँगै विश्वविद्यालयको प्रशासनिक कार्यसम्पादनको अनुभव रहेको छ।
विश्वविद्यालयका दुई महत्वपूर्ण संकायको नेतृत्वमा अनुभवी प्राध्यापकहरूलाई जिम्मेवारी दिइएसँगै शैक्षिक, प्रशासनिक तथा प्राज्ञिक गतिविधिलाई थप प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।
नवनियुक्त डीनद्वय प्राध्यापक अजय कुमार साह र प्राध्यापक डा. कृष्णप्रसाद पाण्डेलाई हार्दिक बधाई तथा सफल, सार्थक र उपलब्धिमूलक कार्यकालको शुभकामना।




