सुन्दरहरैचा। आश्विन ९ गते
मनमोहन इन्स्टिच्युट अफ लमा बीबीए–एलएलबी (BBA–LLB) प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले शुक्रबार मोरङ जिल्ला अदालतको शैक्षिक भ्रमण गरेका छन्।

कानुन अध्ययन गरिरहेका विद्यार्थीलाई कक्षाकोठामा प्राप्त सैद्धान्तिक ज्ञानलाई अदालतको वास्तविक कार्यसम्पादनसँग जोड्दै व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले भ्रमण आयोजना गरिएको हो।
भ्रमणका क्रममा विद्यार्थीहरूले मोरङ जिल्ला अदालतमा भइरहेको न्यायिक तथा प्रशासनिक कार्यसम्पादनको प्रत्यक्ष अवलोकन गरेका थिए। उनीहरूले मुद्दाको सुनुवाइ, बहस तथा अदालतमा हुने विभिन्न प्रक्रियाबारे नजिकबाट जानकारी लिएका थिए।
विद्यार्थीहरूले मोरङ जिल्ला अदालतका प्रशासन प्रमुख तथा श्रेस्तेदार मणी पोखरेलसँग अन्तरक्रियासमेत गरेका थिए। अन्तरक्रियाका क्रममा पोखरेलले अदालतको कामकारबाही, मुद्दा दर्तादेखि सुनुवाइसम्मको प्रक्रिया तथा न्यायिक कार्यसम्पादनका विभिन्न पक्षबारे विद्यार्थीलाई जानकारी गराएका थिए।
अदालत भ्रमणले विद्यार्थीलाई कानुनको सैद्धान्तिक अध्ययनसँगै न्याय सम्पादनको व्यावहारिक पक्ष बुझ्न तथा अदालतको कार्यप्रणालीलाई प्रत्यक्ष रूपमा अनुभव गर्न सहयोग पुगेको जनाइएको छ।




