सुन्दरहरैँचा, मोरङ, असोज ९ गते।
मोरङको सुन्दरहरैचा स्थित पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ हेल्थ साइन्सेसअन्तर्गत फार्मेसी विभागका विद्यार्थीहरूको आयोजनामा विश्व फार्मेसिस्ट दिवस विविध कार्यक्रमसहित सम्पन्न भएको छ। कार्यक्रममा फार्मेसी पेसा औषधि बिक्री–वितरणमा मात्र सीमित नभई मानव स्वास्थ्य, व्यवहार र गुणस्तरीय सेवासँग जोडिनुपर्नेमा वक्ताहरूले जोड दिएका छन्।

विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. पन्ना थापाको प्रमुख आतिथ्य तथा नेपाल फार्मेसी काउन्सिलका अध्यक्ष प्रा.डा. कादिर आलमको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालय चिकित्सा शास्त्र सङ्कायका उपडीन डा. श्याम कुमार मल्लिक, स्कुल अफ हेल्थ साइन्सेसकी निर्देशक दीप्ति सुब्बा, स्कुल अफ मेडिकल साइन्सेसका निर्देशक डा. प्रकाश राई, फार्मेसी विभागका विभागीय प्रमुख डा. अनिल कुमार साहलगायत विभिन्न विभागका प्रमुख, प्राध्यापक, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा.डा. पन्ना थापाले फार्मेसी पेसा औषधि बिक्री वितरणमा मात्र सीमित नभई मानव स्वास्थ्य र गुणस्तरीय स्वास्थ्य सेवासँग प्रत्यक्ष सम्बन्धित महत्वपूर्ण पेसा भएको बताउनुभयो। उहाँले फार्मेसी पेसा नारामा मात्र नभई व्यवहार र कार्यसम्पादनमा देखिनुपर्नेमा जोड दिनुभयो।
चिकित्सक, फार्मेसिस्ट तथा अन्य स्वास्थ्यकर्मीबीच प्रभावकारी अन्तरपेसागत सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उहाँले समयअनुकूल पाठ्यक्रम परिमार्जन, अनुसन्धान, नवप्रवर्तन तथा स्वास्थ्य संस्था र औषधि उद्योगसँगको सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।
विशेष अतिथि नेपाल फार्मेसी काउन्सिलका अध्यक्ष प्रा.डा. कादिर आलमले फार्मेसी पेसाको भविष्य निर्माणमा विद्यार्थीहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। उहाँले कम्युनिटी फार्मेसीको महत्वबारे चर्चा गर्दै विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा मात्र सीमित नरही अनुसन्धानात्मक लेख तथा वैज्ञानिक सामग्रीको अध्ययन गर्न र हासिल गरेको ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो।
स्कुल अफ हेल्थ साइन्सेसकी निर्देशक दीप्ति सुब्बाले फार्मेसी शिक्षाको विगत र वर्तमान अवस्थाबारे चर्चा गर्दै विश्वविद्यालयको फार्मेसी शिक्षालाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउँदै लैजानुपर्ने बताउनुभयो। शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यार्थीबाट प्राप्त सुझाव र प्रतिक्रियालाई सकारात्मक रूपमा ग्रहण गरिने उहाँले बताउनुभयो।
कार्यक्रममा दिइएको जानकारीअनुसार पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत देशभरका १० वटा क्याम्पसमा स्नातक तहको बी.फार्मेसी कार्यक्रम सञ्चालनमा रहेको छ। विश्वविद्यालयले स्नातकोत्तर तहमा समेत फार्मेसी विषयको अध्ययन–अध्यापन गराउँदै आएको छ। स्कुल अफ हेल्थ साइन्सेस, गोठगाउँमा हाल १५९ जना विद्यार्थी बी.फार्मेसीमा अध्ययनरत रहेको जानकारी दिइएको छ।
कार्यक्रमका अन्य वक्ताहरूले फार्मेसी शिक्षाको गुणस्तर सुधार, शिक्षक–विद्यार्थी अन्तरक्रिया, अस्पतालसँगको सहकार्य तथा शिक्षण सिकाइमा कृत्रिम बुद्धिमत्ता (AI) लगायत आधुनिक प्रविधिको प्रभावकारी प्रयोग गर्नुपर्नेमा जोड दिएका थिए। प्रविधिको प्रयोगसँगै विद्यार्थीमा सिर्जनशीलता, आलोचनात्मक सोच र व्यावसायिक दक्षता विकास गर्नुपर्ने धारणा पनि कार्यक्रममा व्यक्त गरिएको थियो।
विश्व फार्मेसिस्ट दिवसको अवसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुतिसमेत प्रस्तुत गरेका थिए। विविध शैक्षिक तथा सांस्कृतिक गतिविधिसहित सम्पन्न कार्यक्रमले फार्मेसी शिक्षालाई व्यावहारिक, अनुसन्धानमुखी र सेवामुखी बनाउनुपर्ने सन्देश दिएको छ।




