सुन्दरहरैँचा, मोरङ ।शिव भट्टराई भोजपुरे, आश्विन ९ गते
रक्तदान, विपद्मा परेका नागरिकलाई सहयोग, बाढीपीडितका लागि राहत तथा स्वास्थ्य, शिक्षा र जनचेतनामूलक कार्यक्रम लगायत विभिन्न सेवामूलक गतिविधिमार्फत समुदायसँग जोडिँदै आएको लायन्स क्लब अफ सुन्दरदुलारीको इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

सुन्दरहरैचा ६ मा रहेको साना किसान सहकारीको सभाहलमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका अध्यक्ष अजम्बर राईको प्रमुख आतिथ्य तथा लायन्स क्लब अफ सुन्दरदुलारी २०२५/२६ का अध्यक्ष चन्द्रप्रसाद कोइरालाको अध्यक्षता रहेको थियो। पदस्थापन कार्यक्रममा लायन्स क्लबको नयाँ कार्यसमितिलाई औपचारिक रूपमा पद तथा जिम्मेवारी हस्तान्तरण गरिएको हो।

कार्यक्रममा २०२६/२७ का लागि अध्यक्षमा महेश चौधरी, उपाध्यक्षमा मेघराज पौडेल, तुलसा आचार्य र लक्ष्मीप्रसाद सिग्देल, सचिवमा छवि धमला र कोषाध्यक्षमा ध्रुव निरौला, लगायत विभिन्न जिम्मेवारीमा गरी ३६ जना सदस्यलाई डिस्ट्रिक्ट गभर्नर लायन लीलाप्रसाद चिमरियाले पदस्थापन गराएका थिए।

लायन्स क्लब अफ सुन्दरदुलारीले स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विभिन्न मानवीय तथा सेवामूलक गतिविधि सञ्चालन गर्दै आएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अजम्बर राईले सामाजिक सेवाको क्षेत्रमा लायन्स क्लबले पुर्याउँदै आएको योगदान महत्वपूर्ण रहेको बताए। उनले सामाजिक संस्थाले समुदायको वास्तविक आवश्यकता पहिचान गरी सेवामूलक कार्यक्रम सञ्चालन गर्दा त्यसको प्रभाव प्रत्यक्ष रूपमा नागरिकसम्म पुग्ने धारणा राख्दै आगामी दिनमा पनि मानवीय सेवाका कार्यलाई निरन्तरता दिन आग्रह गरे।
सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले सामाजिक संघसंस्थाले लायन्स क्लबले रक्तदान, विपद्मा सहयोगलगायतका क्षेत्रमा गर्दै आएको कार्यले सामाजिक उत्तरदायित्वको भावना बलियो बनाएको उल्लेख गरे।
नवनिर्वाचित अध्यक्ष महेश चौधरीले आफूलाई प्रदान गरिएको जिम्मेवारीलाई सेवामूलक अभियानमार्फत सार्थक बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले क्लबले विगतमा सञ्चालन गर्दै आएका कार्यक्रमलाई निरन्तरता दिँदै आगामी कार्यकालमा रक्तदान, स्वास्थ्य, शिक्षा, विपद् व्यवस्थापन तथा समुदाय केन्द्रित सामाजिक सेवाका कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाउने बताए।
कार्यक्रममा लायन्स डिस्ट्रिक्ट गभर्नर, सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईं, उपप्रमुख अकली चौधरी लगायत विभिन्न लायन्स लिडर, सामाजिक व्यक्तित्व तथा अतिथिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका क्रममा क्लबका विभिन्न गतिविधि, सामाजिक सेवामा पुर्याएको योगदान तथा आगामी कार्ययोजनाबारे समेत चर्चा गरिएको थियो। कार्यक्रममा नयाँ नेतृत्वलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गर्दै सामाजिक सेवाको अभियानलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।
यसै अवसरमा हसिना मिडिया प्रा.लि.द्वारा सञ्चालित ‘सुन्दरहरैँचा अपडेट’का पत्रकार शिव भट्टराई भोजपुरेलाई पत्रकारितामार्फत समाजमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो। स्थानीय स्तरका सामाजिक गतिविधि, नागरिकका समस्या तथा समुदायका सकारात्मक गतिविधिलाई सञ्चारमाध्यममार्फत उजागर गर्दै आएको भन्दै पत्रकार भट्टराईलाई सम्मान गरिएको हो।
उक्त पदस्थापन कार्यक्रममा लायन बिकास आधिकारी, नागेश पोख्रेल, रोहित शाह, पबित्रा गौतम, लोकेन्द्र ढकाल, हेमन्त भट्टराई लगायतको उपस्थिति रहेको थियो।




