सुन्दरहरैंचामा मालपोत तथा नापी सेवा प्रभावकारी बन्दै, तेस्रो दिन १३ वटा रजिष्ट्रेसन पास


shiva
Single Before Content Ad

सुन्दरहरैंचा, ७ असोज । 

सुन्दरहरैंचा नगरपालिकाले ऐतिहासिक रूपमा स्थानीय तहबाटै सुरु गरेको मालपोत तथा नापीसम्बन्धी सेवा सञ्चालनको तेस्रो दिन १३ वटा रजिष्ट्रेसन पास गर्न सफल भएको छ। नगरपालिकाले २०८३ असोज ५ गते औपचारिक रूपमा सेवा सुरु गरेको थियो।

सेवा सुरु भएको पहिलो दिन ६ वटा रजिष्ट्रेसन सम्बन्धी काम सम्पन्न भएकोमा तेस्रो दिनसम्म आइपुग्दा १३ वटा रजिष्ट्रेसन पास भएका छन्। स्थानीयस्तरबाटै मालपोत तथा नापीसम्बन्धी सेवा उपलब्ध हुन थालेपछि नगरवासीलाई घरजग्गासम्बन्धी कामका लागि अन्यत्र धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

नेपालको संविधान, २०७२ ले स्थानीय तहको अधिकार सूचीमा घरजग्गासम्बन्धी कार्यलाई समेटेको छ। त्यस्तै, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को (ढ) ले प्रदान गरेको अधिकार कार्यान्वयन गर्दै करिब ९ वर्षको अवधिपछि सुन्दरहरैंचा नगरपालिकाले उक्त सेवा सञ्चालनमा ल्याउन सफल भएको हो।

सेवा प्रारम्भको चरणमा प्राविधिक, व्यवस्थापकीय तथा प्रक्रियागत केही कठिनाइ देखिए पनि यसलाई सुधार गर्दै सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउने प्रयास भइरहेको छ। आफ्नै नगरपालिकाबाट मालपोत तथा नापीसम्बन्धी सेवा प्राप्त हुन थालेपछि यसबाट सुन्दरहरैंचावासी नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने देखिएको छ।

नयाँ सेवा सञ्चालनमा आउँदा प्रारम्भिक चरणमा केही समय लाग्नु र केही समस्या देखिनु स्वाभाविक भएकाले सेवामा लाग्ने समय तथा देखिएका कठिनाइलाई सकारात्मक रूपमा लिएर जनप्रतिनिधि, कर्मचारी, सेवाग्राही र सरोकारवाला सबैले हातेमालो गर्नु आवश्यक छ।

स्थानीय तहमा अधिकार कार्यान्वयन गर्दै नागरिकलाई घरदैलोमै सेवा उपलब्ध गराउने यो प्रयासलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सके सुन्दरहरैंचाको सेवा प्रवाहमा नयाँ अध्याय थपिने विश्वास गरिएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार