कोशी प्रदेश नामाकरणविरुद्ध आन्दोलन चर्काइरहेका पहिचानवादीहरुले आज खोटाङमा शक्ति प्रदर्शन गरेका छन् । कोशी नाम खारेज गरी किरात प्रदेश नामाकरण गराउन थालिएको दबावमूलक आन्दोलनलाई सशक्त बनाउन भन्दै ‘प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले सदरमुकाम दिक्तेलमा मोटरसाइकल र्यालीसहित शक्ति देखाएको छ ।
समितिको युवा परिचालन उपसमितिको आयोजनामा शुभम फाउण्डेसनबाट किरात चोक, त्रिवेणी चोक, हाटडाँडा हुँदै भवनगैरासम्म मोटरसाइकल र्यालीसहितको प्रदर्शन गरिएको हो । र्यालीले बजार परिक्रमा गर्नेक्रममा मानव अधिकार चोकमा रहेको खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्रालयको जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयको बोर्डमा उल्लेखित ‘कोशी’ नाम मेटाइएको थियो ।
त्यस्तै, पहिचान पक्षधरहरुले युवा परिचालन उपसमितिका संयोजक निर्मल राईको संयोजकत्वमा १०१ सदस्यीय किरात फोर्स पनि गठन गरेका छन् । आजै शुभम फाउण्डेसनमा भएको भेलाले शहीद पदम लिम्बू (लाजेहाङ) को तस्बिरसहित किरात फोर्स अंकित कालो टि–सर्टधारी युवा दस्ता बनाएको हो ।
ऐतिहासिक पृष्ठभूमिको आधारमा किरात प्रदेश पुःन नामांकन आन्दोलनलाई सशक्त बनाउने तथा आन्दोलनका क्रममा सुरक्षा प्रदान गर्ने प्रयोजनका लागि किरात फोर्स गठन गरिएको संयोजक राईले बताए । संयोजक राई जसपाका नेता एवम् दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका पूर्ववडाध्यक्ष पनि हुन् । परिपक्व र इमान्दार युवालाई छानेर किरात फोर्समा आवद्ध गराइएको संयोजक राईले बताए ।