काठमाडौं, असार २ । गोकर्णेश्वर नगरपालिका र काठमाडौं मेडिकल कलेज (केएमसी) बीच नगरवासीलाई स्वास्थ्य सेवा तथा उपचारमा विशेष सहुलियत उपलब्ध गराउने उद्देश्यले सम्झौता भएको छ ।

कार्यक्रम नेपाली कांग्रेसका युवानेता तथा पूर्वसांसद सुनीलकुमार शर्माको प्रमुख आतिथ्य तथा नगर प्रमुख दीपककुमार रिसालको सभापतित्वमा सम्पन्न भएको थियो । सोमबार आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौली र केएमसीका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार गोकर्णेश्वर नगरपालिकाको सिफारिसमा उपचारका लागि केएमसी पुगेका स्थायी बासिन्दाले नेपाल सरकारको विपन्न नागरिक औषधि उपचार कार्यक्रम, स्वास्थ्य बीमा तथा अन्य उपलब्ध सुविधा उपयोग गरेपछि थप सहुलियत पाउनेछन् ।
केएमसीको दुवाकोट युनिटमा साधारण शैयामा भर्ना भएर उपचार गराउँदा औषधि, औषधिजन्य सामग्री, उपकरण, ईएचएस, आईयूआई तथा आईभीएफ, सीटीभीएस सर्जरी, कलेजो प्रत्यारोपण, न्युरो इन्टरभेन्सन, सौन्दर्य तथा कस्मेटिक सेवा, इम्प्लान्ट र सिंगल क्याबिनबाहेकका उपचार सेवामा ५० प्रतिशत छुट प्रदान गरिनेछ । सिनामंगल शाखाबाट उपचार गराउँदा यस्तै सेवामा २५ प्रतिशत छुट उपलब्ध हुनेछ ।
दुवाकोटमा उपचार गरिएका बिरामीको कुल खर्चको ५० प्रतिशत तथा सिनामंगलमा उपचार गरिएका बिरामीको कुल खर्चको ७५ प्रतिशत रकम गोकर्णेश्वर नगरपालिकाले केएमसीलाई शोधभर्ना गर्ने व्यवस्था गरिएको छ । यो सहुलियत प्रतिव्यक्ति वार्षिक एक लाख तीन हजार रुपैयाँसम्मको उपचार खर्चमा लागू हुनेछ । सोभन्दा बढी खर्च बिरामी स्वयंले व्यहोर्नुपर्नेछ । औषधि, औषधिजन्य सामग्री तथा उपकरणको खर्चसमेत बिरामीले नै तिर्नुपर्ने व्यवस्था छ ।
मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्थामा नगरपालिकाले प्रतिव्यक्ति थप तीन लाख नौ हजार रुपैयाँ उपलब्ध गराउनेछ । अन्य सहुलियत रकमसमेत जोड्दा एक व्यक्तिले नगरपालिकाबाट चार लाख १२ हजार रुपैयाँसम्म सहयोग प्राप्त गर्न सक्नेछ । उक्त रकम प्रयोगशाला परीक्षण, शल्यक्रिया, क्याबिन सुविधा तथा औषधिजन्य सामग्रीमा उपयोग गर्न सकिनेछ ।
नगरपालिकाबाट उपलब्ध हुने सहयोग, स्वास्थ्य बीमा तथा विपन्न नागरिक कार्यक्रमबाट प्राप्त सुविधा उपयोग गरिसकेपछि पनि रकम अपुग भएमा केएमसीले थप चार लाख १२ हजार रुपैयाँसम्म छुट प्रदान गर्नेछ । त्यसपछि बाँकी रकम बिरामी स्वयंले व्यहोर्नुपर्नेछ । सम्झौताअनुसार उपचारका लागि आवश्यक रगत उपलब्ध गराउन नगरपालिकाले केएमसीमा सिफारिस गर्नेछ । रगत उपलब्ध गराउँदा प्रयोगशाला परीक्षण शुल्कबापत प्रतिपिन्ट एक हजार दुई सय १० रुपैयाँ नगरपालिकाले शोधभर्ना गर्ने व्यवस्था गरिएको छ । यो सम्झौता २०८३ साउन १ गतेदेखि लागू भई २०८४ असार मसान्तसम्म कायम रहनेछ ।
१० लाखसम्मको निःशुल्क मिर्गौला प्रत्यारोपण सम्भव ः शर्मा
केएमसीका सञ्चालक तथा पूर्वसांसद सुनीलकुमार शर्माले सम्झौतापछि गोकर्णेश्वर नगरपालिकाका स्थायी बासिन्दाले मिर्गौला प्रत्यारोपणमा करिब १० लाख रुपैयाँसम्मको सुविधा प्राप्त गर्न सक्ने बताए । उनले सरकार र नगरपालिकाबाट प्राप्त हुने चार लाख १२ हजार तथा केएमसीले प्रदान गर्ने चार लाख १२ हजारबराबरको छुट जोड्दा मिर्गौला प्रत्यारोपणमा आठ लाख २४ हजार रुपैयाँसम्मको खर्च व्यवस्थापन हुने बताए । यसमा विपन्न नागरिक कार्यक्रम र स्वास्थ्य बीमाबाट प्राप्त हुने सुविधा थपिँदा करिब १० लाख रुपैयाँसम्मको उपचार निःशुल्क हुन सक्ने उनको भनाइ थियो ।
शर्माले भारतमा मिर्गौला प्रत्यारोपण गर्दा यात्रा, बसोबास र उपचार खर्चसहित न्यूनतम ३० लाख रुपैयाँ लाग्ने उल्लेख गर्दै गोकर्णेश्वरका नागरिकले आफ्नै क्षेत्रमा ठूलो राहत प्राप्त गर्ने बताए । सम्झौतापछि अन्य रोगको उपचारमा पनि नगरवासीले लाखौँ रुपैयाँसम्म सहुलियत पाउने भएका छन् । दुवाकोटस्थित केएमसीमा उपचार गराउँदा स्वास्थ्य बीमा, विपन्न नागरिक कार्यक्रम र अस्पतालको छुट जोडेर एउटा बिरामीले चार लाख रुपैयाँसम्मको उपचार सहुलियत प्राप्त गर्न सक्ने शर्माले बताए।
शर्माले यस्तै प्रकारको कार्यक्रम उपत्यकाका करिब १० नगरपालिका तथा दुर्गम क्षेत्रका १०–२० स्थानीय तहमा विस्तार गर्ने तयारी रहेको जानकारी दिए । आगामी वर्ष गोकर्णेश्वर नगरपालिकाले दुई लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा कार्यक्रम लागू गरेमा केएमसीले थप दुई लाख रुपैयाँ बराबरको छुट उपलब्ध गराउने घोषणासमेत उनले गरे । कार्यक्रममा नगर प्रमुख रिसालले केएमसीसँगको सम्झौताले नगरवासीलाई गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यलाई थप बल पुगेको बताए । सम्झौता हस्ताक्षर कार्यक्रममा नगरपालिकाका सबै वडाध्यक्षहरूको उपस्थिति रहेको थियो ।




