सुन्दरहरैंचा, मोरङ ।
सुन्दरहरैंचा नगरपालिकाको प्रवर्द्धन तथा सुन्दरहरैंचा नगर खेलकुद समन्वय समितिको आयोजनामा “प्रथम सुन्दरहरैंचा कोशी प्रदेश विद्यालय स्तरीय चेस प्रतियोगिता–२०८३” शुक्रबारदेखि सुन्दरहरैंचास्थित जेसिज हलमा सुरु भएको छ।
कोशी प्रदेशका विभिन्न जिल्लाका विद्यालयहरूबाट विद्यार्थी खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको प्रतियोगिताको उद्घाटन सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदार प्रसाद गुरागाईं ले गरेका थिए।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख गुरागाईंले चेस खेलले विद्यार्थीहरूको बौद्धिक क्षमता, निर्णय गर्ने दक्षता तथा नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले खेलकुदलाई नगरको समग्र विकाससँग जोडेर अघि बढाइएको उल्लेख गर्दै आगामी दिनमा यस्ता प्रतियोगितालाई थप व्यवस्थित र व्यापक बनाइने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा सुन्दरहरैंचा नगर खेलकुद समन्वय समितिका सचिव खड्ग श्रेष्ठ ले प्रतियोगिताले विद्यालयस्तरमा चेस खेलको विकास र विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले प्रदेशभरिका प्रतिभावान खेलाडीहरूलाई एकै थलोमा प्रतिस्पर्धा गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिए।
त्यस्तै, सुन्दरहरैंचा नगरपालिका वडा नं. १२ का वडाध्यक्ष रोशनप्रसाद ढकाल ले विद्यार्थीहरूको प्रतिभा पहिचान र प्रोत्साहनका लागि यस्ता प्रतियोगिताहरू आवश्यक रहेको बताए। उनले खेलमार्फत अनुशासन, धैर्यता र सकारात्मक सोचको विकास हुने उल्लेख गरे।
प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका विद्यालयका छात्र तथा छात्राहरूले सहभागिता जनाएका छन्। आयोजकका अनुसार प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ।
चेस खेलको माध्यमबाट विद्यार्थीहरूमा रणनीतिक सोच, एकाग्रता र सिर्जनशीलताको विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिता केही दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, खेलकुदकर्मी, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

