
सुन्दरहरैचा/ शिव भट्टराई ।
मोरङको सुन्दरहरैचा–५ स्थित साजिलाल माध्यमिक विद्यालयको आयोजनामा र एलाइड पब्लिकेसनको सहयोगमा सुन्दरहरैचा वडा नं. ३, ४, ५, ६ र ७ का सामुदायिक विद्यालयका शिक्षकहरूलाई लक्षित गर्दै आयोजना गरेको शिक्षक क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।

विद्यालयका प्रिन्सिपल श्याम काफ्लेका अनुसार बदलिँदो आधुनिक सूचना प्रविधिको युगमा शिक्षकहरूलाई ICT मा दक्ष बनाउने तथा मल्टिमिडिया माध्यमबाट प्रभावकारी शिक्षण सिकाइ प्रक्रिया अगाडि बढाउने उद्देश्यले तालिम आयोजना गरिएको हो। तालिममा विशेषगरी गणित विषयको शिक्षणलाई सरल, व्यावहारिक र प्रभावकारी बनाउने विभिन्न विधि तथा सीपहरूमा केन्द्रित गरिएको थियो।

तालिममा सुन्दरहरैचाका विभिन्न वडामा रहेका सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागी शिक्षकहरूले तालिमबाट प्राप्त ज्ञान र सीपले कक्षाकोठामा शिक्षण पद्धतिमा सकारात्मक सुधार ल्याउने विश्वास व्यक्त गरेका छन्।
तालिममा सहभागी बिद्यालयका सहायक प्राध्यापक हरि भट्टराई, शिक्षक योगराज घोर्साई, अमृता भट्टराई लगायतले तालिम अत्यन्त उपयोगी र समयसापेक्ष रहेको बताउँदै शिक्षणलाई अझ प्रभावकारी बनाउने तरिका सिक्न पाइरहेको र ICT तथा मल्टिमिडिया प्रयोग मार्फत कक्षालाई अझ आकर्षक बनाउन सकिने ज्ञान हासिल भइरहेको बताए।
यसैबीच, विद्यालयले नयाँ शैक्षिक सत्रका लागि कक्षा सञ्चालनको तयारी समेत तीव्र रूपमा अगाडि बढाइरहेको जनाएको छ। आगामी सत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक शैक्षिक सामाग्री निर्माण तथा व्यवस्थापकीय तयारीहरू भइरहेको विद्यालयले जनाएको छ।

