डा. सुनिल शर्माले पुर्ख्यौली गाउँको विद्यालयलाई ५ करोड सहयोग गरे


shiva
Single Before Content Ad

आश्विन ६ गते, सुन्दरहरैचा ।

नोबेल मेडिकल कलेज तथा काठमाडौं मेडिकल कलेजका सञ्चालक डा. सुनिलकुमार शर्माले आफ्नो पुर्ख्यौली थलो धनकुटाको पाख्रीबास नगरपालिका–१० चुङमाङस्थित भारती माध्यमिक विद्यालयलाई ५ करोड रुपैयाँ बराबरको सहयोग गरेका छन्।

 विद्यालयको नाम आफ्ना पुर्खाको नाममा परिवर्तन गर्न ३ करोड रुपैयाँ र आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि २ करोड रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराउने गरी उनले सहयोग गरेका हुन्।

विद्यालयको नाम ‘श्री भारती गणपति गुणलाल न्यौपाने माध्यमिक विद्यालय’ कायम गर्ने सहमति भएको प्रधानाध्यापक हरिप्रसाद पौडेलले बताए। नाम परिवर्तनका लागि शर्माले विद्यालयको नाममा ३ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका छन्।

उच्च शिक्षा अध्ययनका लागि उपलब्ध गराइने २ करोड रुपैयाँ बराबरको छात्रवृत्ति काठमाडौं मेडिकल कलेजमार्फत सञ्चालन गर्ने सम्झौता भएको छ। सम्झौतामा डा. शर्मा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा पाख्रीबास–१० का वडाध्यक्ष हरि खत्री र पाख्रीबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङलगायतले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार कक्षा ६ देखि उक्त विद्यालयमा निरन्तर अध्ययन गरी कम्तीमा पाँच वर्ष पूरा गरेका र एसईई उत्तीर्ण आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीले छात्रवृत्ति पाउनेछन्। त्यस्ता विद्यार्थीले चिकित्सा शिक्षा आयोगको एकीकृत राष्ट्रिय परीक्षा उत्तीर्ण गरी आयोग वा विश्वविद्यालयको नियमअनुसार मेरिटका आधारमा काठमाडौं मेडिकल कलेजमा अध्ययनका लागि छनोट हुनुपर्नेछ। छात्रवृत्तिका लागि विद्यालयले सिफारिस गर्ने व्यवस्था गरिएको छ।

छात्रवृत्तिअन्तर्गत काठमाडौं मेडिकल कलेजमा अध्यापन हुने डीएम, एमसीए, एमडी, एमएस, एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीएनएस, बीपीटीलगायतका शैक्षिक कार्यक्रम अध्ययनका लागि निःशुल्क व्यवस्था गरिएको शर्माले बताए।विद्यालयको नाममा पुर्खाको नाम जोड्नु मात्रै आफ्नो उद्देश्य नभएको शर्माले बताए। ‘आफ्ना पुर्खाको नाम विद्यालयसँग जोड्ने विषयमा मात्र सीमित नभई पुर्खाबाट प्राप्त संस्कार, मूल्य र जिम्मेवारीलाई आगामी पुस्ताका लागि अवसरका रूपमा रूपान्तरण गर्ने प्रयास हो,’ उनले भने।

सहयोग रकम हस्तान्तरण तथा छात्रवृत्ति सञ्चालनसम्बन्धी सम्झौताका लागि डा. शर्मा आफ्ना बाबु लोकनाथ न्यौपाने र आमासहित पुर्ख्यौली गाउँ चुङमाङ पुगेका थिए।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार