सुन्दरहरैँचा (मोरङ) शिव भट्टराई भोजपुरे:
मोरङको सुन्दरहरैँचा–१० मा रहेको न्यु बागेश्वरी नौमती बाजा समूह ले शनिबार पर्यटकीय स्थल बाघझोडामा नौमती बाजाको विशेष प्रदर्शनी गरेको छ। परम्परागत नेपाली कला, संस्कृति र मौलिक बाजाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रदर्शनीमा स्थानीयवासी तथा आन्तरिक पर्यटकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रदर्शनीका क्रममा नौमती बाजाका विभिन्न धुन प्रस्तुत गरिएका थिए। बाजाको मधुर स्वरले बाघझोडा क्षेत्र गुञ्जायमान बनेको थियो भने दर्शकहरूले नेपाली मौलिक संस्कृतिको झल्को महसुस गरेका थिए। पछिल्लो समय आधुनिक बाजा तथा प्रविधिको प्रभाव बढ्दै जाँदा लोपोन्मुख बन्दै गएको नौमती बाजाको महत्वबारे पनि कार्यक्रममा जानकारी गराइएको थियो।

समूहकी अध्यक्ष हिमा बस्नेतले नेपाली संस्कृतिको अभिन्न अंगका रूपमा रहेको नौमती बाजाको संरक्षण सबैको साझा दायित्व भएको बताइन्। उनले विवाह, व्रतबन्ध, पुराण, धार्मिक अनुष्ठान तथा अन्य विशेष समारोहहरूमा नौमती बाजाको प्रयोगले कार्यक्रमलाई थप सांस्कृतिक र भव्य बनाउने उल्लेख गरिन्।
न्यु बागेश्वरी नौमती बाजा समूहले आगामी दिनमा पनि विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रम तथा बाजा प्रदर्शनी आयोजना गर्दै नेपाली मौलिक संस्कृतिको जगेर्ना गर्ने नरेन्द्र थापाले जनाएका छन्। प्रदर्शनीले स्थानीय स्तरमा नौमती बाजाप्रति महिलाहरुको आकर्षण बढाउन समेत सकारात्मक भूमिका खेलेको सहभागीहरूको भनाइ रहेको थियो।
तपाईंहरु कसैलाई आवश्यक परेमा
हिमा बस्नेत 9842095317
बिमला कोईराला 9813793111 ,9842147026
नर बहादुर सुन्दास 9713930971, 9769809137

